विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार ०३:५१

२२ कार्तिक, २०७८ काठमाडौँ : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए । ‘प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकाले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ ।
भागबण्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिने भएकाले मुख्यमन्त्री ज्यूलाई हामी विश्वासको मत दिँदैनौ’ उनले भने । साथै नेता पौडेलले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद् विस्तार गरेर जनतालाई नै व्ययभार बोकाउने कार्य नगर्न सरकारलाई खबरदारी गर्ने समेत गरे ।
विवेकशील साझा पार्टी प्रदेशसभाको पहिलो बैठक देखिनै प्रतिपक्षमा रहेकोले आगामी दिनमा पनि प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए । ‘हामी प्रदेशसभामा बैठक प्रारम्भ भएदेखि नै रचनात्मक प्रतिपक्षको भूमिकालाई निर्वाह गर्दै आगामी दिनमा पनि यसलाई प्रभावकारी रूपमा निरन्तरता दिनेछौँ’ उनले बताए ।
प्रतिकृया