• 12:18 pm

बाहिरियो यो वर्षको मनसुन, सरदरभन्दा १५ प्रतिशत बढी वर्षा

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०८:३७

२६ असोज, २०७८ काठमाडौँ :  यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।


गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो ।


यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ ।यो वर्ष मनसुनका चार महिना ९जेठदेखि असोज० मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ ।


पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् । उनका अनुसार यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ ।

मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ ।

आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

मनसुन बाहिरिए पनि आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने प्रणाली विकसित नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया