• ५ साउन २०८३, मंगलबार
  • १२:०२ बिहान

भारतलाई बराबरीमा रोक‍े पनि यी अवस्थामा फाइनल पुग्न सक्छ नेपाल

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ०३:३२

२२ असोज, २०७८ काठमाडौँ : काठमाडौँ नेपाल साफ च्याम्पियनसिप १३ औँ संस्करणसम्म आइपुग्दा यो प्रतियोगिताको उपाधि जित्न असफल छ। एकपटक फाइनल पनि पुग्न सकेको छैन। यस्तो अवस्थामा माल्दिभ्समा आइतबार राति हुने भारतविरुद्धको खेल नेपालका लागि ऐतिहासिक बन्न सक्छ। यो खेलमा बराबरीको नतिजा निकालेमात्र पनि नेपाल फाइनल पुग्न सक्ने छ। तर अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउनुपर्ने छ।


२ खेलबाट ६ अंक भएको नेपाल शीर्षस्थानमा छ। बंगलादेश ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ। माल्दिभ्सको २ खेलबाट ३ अंक छ। श्रीलंकाको तीन खेलबाट एक अंक रहेको छ। प्रतियोगितामा पाँच टिम सहभागी रहेकामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ। नेपालले अन्तिम खेलमा अक्टोबर १३ तारिखमा बंगलादेशसँग खेल्ने छ। सोही दिन हुने अर्को खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ।

Kamana Sewa

भारतविरुद्ध हुने खेलमा जीत हात पारे नेपाल फाइनल पुग्ने छ। बराबरी वा हारको अवस्थामा पनि नेपाल फाइनल पुग्ने बलियो दावेदार रहने छ। नेपाल भारतसँग पराजित भएमा र आइतबारको अर्को खेलमा माल्दिभ्सले श्रीलंकालाई हराए फाइनल पुग्ने समीकरण रोमान्चक बन्ने छ। त्यस्तो अवस्थामा तीन खेलबाट भारतको ५, माल्दिभ्सको ६ र नेपालको पनि ६ अंक हुने छ। यस्तो नतिजा आएका खण्डमा नेपालले बंगलादेशसँग पनि हार ब्यहोरे र माल्दिभ्सले भारतसँग बराबरी खेले नेपाल फाइनल पुग्न सक्ने छैन।

Classic Tech Desktop

तर भारतसँग पराजित भएको अवस्थामा नेपालले बंगलादेशसँग बराबरी खेले पनि फाइनल पुग्ने सम्भावना रहने छ। माल्दिभ्सले श्रीलंकालाई हराएको अवस्थामा र भारतसँग उसले बराबरी खेलेको अवस्थामा तीन टोलीको समान ७ अंक हुनेछ। त्यस्तो अवस्थामा गोल अन्तरका आधारमा शीर्ष दुई टोलीको निर्क्योल गरिने छ।


नेपालले बाँकी दुवै खेलमा हार ब्यहोरे फाइनल पुग्ने सम्भावना अन्य खेलका नतिजामा निर्भर हुनेछ। त्यस्तो अवस्थामा माल्दिभ्सले श्रीलंकासँग हार ब्यहोर्नुपर्ने छ भने अन्तिम खेलमा भारतलाई हराउनुपर्ने छ। त्यस अवस्थामा समान अंक हुने भारत, माल्दिभ्स र नेपालमध्ये एक टोली फाइनल पुग्नेछ।


नेपालले‍ पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १-० र दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलले हराएको थियो। भारतले बंगलादेशसँग १-१ गोलको बराबरी र श्रीलंकासँग गोलरहित बराबरी खेलेको छ। पहिलो खेलमा श्रीलंकालाई १-० गोलले पराजित गरेयता बंगलादेशले जीत हात पार्न सकेको छैन।

प्रतिकृया