चितवनमा रड प्रहार गरेर एकजनाको हत्या

प्रकाशित मिति

२०७८ आश्विन २ गते, शनिबार ११:२९

murder hatya 20190412132817

२ असोज, २०७८ काठमाडौँ : पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् ।


प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ । घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिएका छन् ।


सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले बताए । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ ।

प्रतिकृया