मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

प्रकाशित मिति

२०७८ भाद्र ३१ गते, बिहीबार ०३:३०

Dpo Dhanusha eOMZSQ0s2v

३१ भाद्र, २०७८ काठमाडौँ : मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेको हो । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाटविरुद्ध नाराबाजी भएको छ ।


तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेले प्रहरी उपरीक्षक रानाभाटविरुद्ध नाराबाजी र जुलुससहित जिल्ला प्रहरी कार्यालय अगाडि करिब डेढ घण्टासम्म नाराबाजी गरेका थिए । उनीहरुले पीडितको मुद्दा दर्ता गरी छानबिन गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पीडित पोषण राईनका छोरा मुमताज राईनले मुस्लिम समुदायको आन्तरिक झै झगडामा प्रहरीले घुस लिएको आरोप लगाए ।


उनले भने, ‘करिब तीन सातापूर्व गाउँको मस्जिदमा मौलाना नभएको बेला मेरो बुबा पोषण राईन नमाज पढाउन जानुभएको थियो, उहाँलाई स्थानीय २२ वर्षीय मुमताज अन्सारीले नमाज पढाउन नदिने भन्दै गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए ।’ विवादको क्रममा कुटपिटसमेत भएको थियो । सो क्रममा राईन पक्षका तीन जना र अन्सारी पक्षका एक जना घाइते भएका थिए ।


घटनालाई आफ्नै समुदायभित्रै मिलाउने प्रयास भए पनि यो विषय प्रहरीसम्म पुगेपछि पीडितले न्यायका लागि गुहार लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराउन पुगे । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि स्थानीयवासीहरु प्रहरीविरुद्ध नारावाजीसहित प्रदर्शनमा उत्रेका छन् । यता धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले मुस्लिम समुदाय बीचमा भएको विवादको बारेमा छलफल भईरहेको जानकारी दिए ।

प्रतिकृया