माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०४:२३

bishnu poudel scaled 1 e1631702302302

३० भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताए ।


‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’ पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भने, ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’


नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी गरे । गत फागुनमा सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई पुन एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरु कांग्रेसको पछि लाग्न तयार भएकाले पार्टी विभाजन भएको पौडेलको जिकिर छ ।


‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ पौडेलले भने । एमालेको ताकत चुनावमा देखाउने र फेरि पनि पहिलो पार्टी बन्ने उनले दावी गरे ।

प्रतिकृया