बाग्मती प्रदेश सभामा गठबन्धनको ६० मत छ, अबको मुख्यमन्त्री मै हुँः राजेन्द्र पाण्डे

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ११:०८

rajendra pandey e1631597028697

२९ भाद्र, २०७८ काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का बाग्मती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब तीन दलको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताएका छन् । उनले मुख्यमन्त्री शाक्यसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने बाहेक अरु विकल्प नभएको दाबी गरे ।


आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “हामीले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं । हामीले समर्थन फिर्ता लिएपछि एमालेको एकल बहुमत घटेर ४३ जनामा झरेको छ । उहाँले राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ । राजीनामा दिने या विश्वासको मत लिने उहाँको कुरा हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र हामी मिलेर साझा उम्मेदवार तय गर्छौं ।”


उनले गठबन्धनसँग ६० सांसद रहेको दाबी गरे । उनले भने, “हामी नेपाली कांग्रेसका २३, माओवादी केन्द्रका २३, एकीकृत समाजजादीका १३ र एक स्वतन्त्र सांसद गरी ६० जना पुग्छौैं । ५५ भए बहुमत पुग्छ । उहाँहरुको साना दल मिलाउँदा खेरि पनि बहुमत पुग्दैन । पाँच जना कहीँबाट पुर्याउन सक्ने अवस्था छैन ।” विगतमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन आफू लागे पनि केपी ओलीको शरणमा परेकाले समर्थन फिर्ता लिएको पाण्डेले दाबी गरे । उनले थपे, “उहाँलाई मुख्यमन्त्री बनाउन हामीले निकै कोसिस गर्यौं । तर उहाँ पद प्राप्तिका लागि अचानक ओलीको शरणमा जानुभयो । उहाँ र हाम्रो पार्टी नै फरक परेकाले अब बोकेर हिँड्न सकिँदैन ।”


नेता पाण्डेले आफूले नेपाली कांग्रेसले धोका दिन्छ भन्ने सोच्दै नसोचेको पनि बताए । उनले भने, “हामी राष्ट्रिय गठबन्धनमा पनि छौं । केन्द्रीय गठबन्धनमा हाम्रै साथीहरुको समर्थनले शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको छ । कांग्रेसले मुख्यमन्त्रीमा दाबी त गर्न पाउँछ तर त्यो अवस्था छ भन्ने हामीलाई लाग्दैन ।” उनले केन्द्रीय गठबन्धनले कांग्रेस, माओवादी र समाजवादीलाई दुईदुई वटा प्रदेश र जसपालाई प्रदेश २ को मुख्यमन्त्री पाउने सहमति गरेकाले त्यसमा विवाद नभएको पनि बताए । उनले भने, “सहमति अनुसार बाग्मती र प्रदेश १ मा हामी नेतृत्व गर्छौं । लुम्बिनीमा माओवादीले छाडेर कांग्रेसलाई दिनेछ ।”


प्रदेशसभामा नेपाली कांग्रेसको दलको नेता इन्द्रबहादुर बानियाँसँग प्रशस्त कुराकानी भएकाले कुनै असमझदारी नभएको पनि उनले बताए । उनले भने, “हामीबीच कुराकानी भइरहेको छ । यसमा उहाँको कुनै आपत्ति छैन, बरु चाँडै गरौं भन्नुभएको छ । कांग्रेस र हामीबीच आलोपालोको कुरा भएको छैन । उपमुख्यमन्त्रीको कुरा पनि भएको छैन । आवश्यकता परे त्यो प्राक्टिस पनि गर्न सकिन्छ ।” संघीय मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमा दरार नआएको बताउँदै उनले एकदुई दिनमा सबै काम सकिने बताए । पाण्डेले एमालेले अरु पार्टीका सांसदलाई निकाल्न नसक्ने जिकिर पनि गरे ।


उनले भने, “एमालेले १४ सांसदलाई कारबाही गरेको हो, तर त्योभन्दा पहिले नै पाटी विभाजित भएपछि अर्को पार्टीका नेतालाई उसले कसरी निकाल्ने ? उमाले संसद् चाँडै विघटन होस् भनेर ज्यादती गरिरहेको छ । तर हामी कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं ।”

प्रतिकृया