सभामुखले बोलाएको बैठक एमालेद्वारा किन बहिष्कार ?

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार १२:३५

oliu

२८ भाद्र, २०७८ काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो ।


एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताए । ‘सभामुखले नेकपा एकीकृत समाजवादी नामको पार्टी सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भने, ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुखको समेत भूमिका छ ।’


उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए । एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । ‘हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ता राखिन्छ भने त्यसमा सहभागी हुन्छौँ’, तामाङको भनाइ छ ।

प्रतिकृया