भाटभटेनी सुपरस्टोरको नयाँ शाखा इटहरीमा
प्रकाशित मिति
२०७८ भाद्र २० गते, आईतवार ०३:३८

२० भाद्र, २०७८ काठमाडौँ : सुनसरीको इटहरीमा भाटभटेनी सुपरस्टोरले आफ्नो १९औं शाखा उद्घाटन गरेको छ। इटहरीको १७ लबिपुरमा शनिबार सुपरस्टोरको उद्घाटन भएको हो। इटहरीमा सञ्चालनमा आएको स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ । १८ महिनाअघि निर्माण सुरु गरिएको १९ औं शाखा अन्य शाखाभन्दा ठूलो भएको जनाइएको छ ।
ए, बी र सी गरी ३ वटा ब्लकमा रहेको सुपरस्टोर ३५ कठ्ठा क्षेत्रफलमा फैलिएको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको जनाइएको छ । शनिबारबाट सञ्चालनमा आएको सुपरस्टोरमा मदिरा तथा सुर्तीजन्य पदार्थबाहेक सामानमा १० प्रतिशत छुट दिइएको छ। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट रहेको सुपरस्टोरमा करिब ५ सय सवारी सहज रूपमा अटाउने बताइएको छ। सुपरस्टोरको पहिलो तलामा भान्साघरका लागि आवश्यक पर्ने सरसामान र बालबालिकाका खेलौना राखिएको छ ।
त्यसैगरी, दोस्रो तलामा कपडा, जुत्ता राखिएका छन्। तेस्रो तलामा विद्युतीय सामान, सजावटका सामान, गलैँचा आदि छन्। त्यसैगरी, चौथो तलामा फर्निसिङका सामान र त्यसमाथि २ वटा मल्टिप्लेक्स चलचित्र हल हुनेछन्। जसमा करिब १ हजार दर्शकले एकैपटक चलचित्र हेर्न सक्नेछन्।
प्रतिकृया