• १८:०८ २०८० चैत्र १६ गते
  • 6:08 pm

अन्तरिक्षमा यसरी कपाल नुहाउँदा रहेछन् अन्तरिक्षयात्री (भिडियो सहित)

प्रकाशित मिति

२०७८ भाद्र १९ गते, शनिबार ०१:५०

megan

१९ भाद्र, २०७८ काठमाडौँ : हालै अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री मेगन म्याकआर्थरले इन्टरनेसनल स्पेस स्टेशनबाट एउटा भिडियो शेयर गरेकी छिन् जुन शोसल मिडियामा भाइरल भइरहेको छ । भिडियोमा अन्तरिक्ष स्टेसनभित्र एक अन्तरिक्षयात्रीले आफ्नो कपाल धोइरहेको देख्न सकिन्छ ।


प्रायः पृथ्वीमा जुन कामहरु हामीले सजिलैसँग गर्न सक्दछौँ त्यहीँ काम गर्न अन्तरिक्षमा निकै गाह्रो पर्दछ । अन्तरिक्षमा पृथ्वीको तुलनामा झण्डै शून्य गुरुत्वाकर्षण हुन्छ । त्यसैले अन्तरिक्षयात्रीहरुलाई माइक्रोग्राभिटी अर्थात् सुक्ष्म गुरुत्वाकर्षणमा कसरी बस्ने भन्ने विषयमा वर्षौँ पहिलेदेखि तालिम दिइएको हुन्छ ।


अन्तरिक्षमा निकै सामान्य कामहरु जस्तै कपाल धुनु, नुहाउनु, खाना खानु आदि पनि निकै मुस्किलले गर्नु पर्दछ । त्यसैले अन्तरिक्षयात्रीहरुले यी दैनिक कार्यहरु गर्नका लागि विशेष उपकरण लगेका हुन्छन् । सार्वजनिक भएको भिडियोमा म्याकआर्थरले आफ्नो कपाल धोइरहेकी छिन् ।


भिडियोको सुरुमा उनले आफ्नो परिचय दिँदै भन्छिन्, ‘मलाई प्रायः सोधिन्छ कि इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने अन्तरिक्षयात्रीहरुले आफ्नो दैनिक कार्य कसरी गर्दछन् रु त्यसैले आज म तपाईंहरुलाई अन्तरिक्षमा कपाल कसरी धोइन्छ भनेर देखाउनेवाला छु ।’


त्यसक्रममा उनको कपाल यताउता बिस्तारै बिस्तारै झुलिरहेको देखिन्छ । त्यसपछि उनले निकै सावधानीपूर्वक बोतलको पानीले टावेललाई भिजाएर त्यहीँ टावेलले कपाल भिजाउँछिन् । कपाल सफा गरेसँगै मेगन भन्छिन्, ‘माइक्रो ग्राभिटीमा कपाल धुनु निकै रमाइलो काम हो ।’


त्यसपछि उनी कपालमा विशेष खालको स्याम्पु लगाउँछिन् । स्याम्पु लगाइसकेपछि उनले त्यहीँ भिजेको टावेलले पुनः कपाल पुछेर सफा गर्दछिन् । उक्त भिडियोलाई सोसल मिडियामा धेरैले मन पराएका छन् । मेगन म्याकआर्थरले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेको उक्त भिडियो हजारौंले हेरिसकेका छन् ।


प्रतिकृया