स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा काँग्रेसको दाबी
प्रकाशित मिति
२०७८ भाद्र १५ गते, मंगलवार ०१:२८
१५ भाद्र, २०७८ काठमाडौँ : सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन् । तर मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफल पुनः बस्ने गरी सकिएको नेताहरूले बताएका छन् । सो बैठकमा उपेन्द्र यादव र माधव नेपालको पार्टीको मालदार मन्त्रालयका विषयमा गलफतीसँगै काँग्रेसले समेत थप मालदार मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।
काँग्रेसले स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेको हो । बैठकमा प्रधानमन्त्री देउवाले कम्युनिस्ट सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रिएको दाबी गर्दै सो मन्त्रालय आफ्नै पार्टीले राखेर राम्रो काम गर्न चाहेको बताएका थिए । यस्तै कोरोना महामारीको अवस्था रहेकाले स्वास्थ्य मन्त्रालय पनि प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने भएकाले त्यसमा पनि पार्टीकै दाबेदारी पेस भएको एक नेताले बताए ।
यसअघि नै काँग्रेसले आकर्षक मानिने गृह र कानुन मन्त्रालय पाइसकेको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।
प्रतिकृया