• १८:३४ २०८० चैत्र १६ गते
  • 6:34 pm

जूमको त्रैमासिक आम्दानी १ अर्ब डलर, प्रयोगकर्ताको संख्या घट्दो

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार १२:४५

zoom

१५ भाद्र, २०७८ काठमाडौँ : भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ ।


विश्लेषकहरुले भने यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ३० लाख हुने प्रक्षेपण गरेका छन् । यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१।२ प्रतिशतले बढी हो । कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको दैनिकी बनेको थियो र गत वर्ष सन् २०२० मा जूमका प्रयोगकर्ता तथा आम्दानीमा एक्कासी कैयन् गुणा वृद्धि भएको थियो ।


यद्यपि महामारीका कारण गत वर्षदेखि चुलिएको जूम प्लाटफर्मको प्रयोग तथा नयाँ प्रयागकर्ता थपिने क्रममा भने अपेक्षा भन्दा तीव्र गतिमा गिरावट आइरहेको कम्पनीले जनाएको छ । उक्त रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा सोमबार ११ प्रतिशतको गिरावट आएको थियो ।


जूमका प्रमुख वित्तिय अधिकारी केल्ली स्टेकेलबर्गका अनुसार यो वर्षको अन्त्यसम्ममा कम्पनीका प्रयोगकर्ता तथा आम्दानीको दरमा सुस्तता आउने अपेक्षा गरिएको भएपनि त्यस्तो गिरावट केही छिटो नै हुन थालेको हो । विश्वका धेरै भागमा कोरोना भ्याक्सिन लगाएसँगै स्कुलहरु पुनः भौतिक रुपमै सञ्चालन हुन थालेका र धेरै कम्पनीहरुले कर्मचारी तथा कामदारको भौतिक उपस्थितिमै कार्यसञ्चालन गर्न थालेसँगै जूमको प्रयोगमा गिरावट आउन थालेको छ ।


साथै प्रतिस्पर्धी कम्पनीहरु सिस्को, वेबेक्स तथा माइक्रोसफ्ट टिम्सका कारण विभिन्न व्यवसायिक कम्पनीहरुबाट जूमले ठूला सम्झौता हात पार्न पनि मुस्किल भैरहेको छ । जूमका अनुसार १० वा त्यसभन्दा कम कर्मचारीहरु भएका कम्पनीहरुबाट प्राप्त भैरहेको आम्दानीमा अब गिरावट आउने छ ।


भिडियो प्लाटफर्मको प्रयोगमा गिरावट आउन थालेसँगै कम्पनीले क्लाउड कलिङ सर्भिसको रुपमा जूम फोनलाई विस्तार गर्ने सोच बनाएको छ । जूमले हालैमात्र १४ अर्ब ७० करोड डलरमा कल सेन्टर सफ्टवेयर मेकर कम्पनी फाइभ नाइन खरीद गर्ने घोषणा गरेको छ, जुन उसको अहिलेसम्मकै ठूलो व्यवसायिक सम्झौता हो । साथै जूमले रियल टाइम भाषा अनुवादक प्रविधि कम्पनी काइट्स जिएमबिएच पनि खरीद गर्ने भएको छ ।

–रोयटर्सबाट

प्रतिकृया