• 12:12 pm

ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार १२:४९

२ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित ३ जना पक्राउ
१४ भाद्र, २०७८ काठमाडौँ :
२ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए.९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जेनियाका नागरिक २६ वर्षीया गेर्तुदे लियोनार्ड किमारो रहेका छन् ।


कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी गामाले लागूऔषध कोकिन निकासी गर्दै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१ कमलादीस्थित होटलबाट सोही दिन राति उक्त कोकिन सहित पक्राउ गरेको थियो । साथै विजयलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट तथा उक्त कारोबारमा संलग्न किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरेको हो ।


बरामद कोकिनको अवैध बजार मूल्य ८ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको र उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।


अवैध लागूऔषध खैरो हेरोईन सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
काठमाडौँ,
अवैध लागूऔषध खैरो हेरोईन सहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका-८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका-५ ठेगाना भएका पिटर लामा, काठमाडौं टोखा नगरपालिका-६ ठेगाना भएका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका-४ ठेगाना भएका ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभुमी गाउँपालिका-५ ठेगाना भएका ३० वर्षीय राज कुमार राई रहेका छन् ।


उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईन सहित भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६ जना उपर काठमाडौँ जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।


सवारी चालक उन्नत तालिम समापन

काठमाडौँ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित १५ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम आइतबार समापन भएको छ । तालिम समापनका अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले सवारी साधनमा आईपर्न सक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिममा प्रदान गरिएका प्राविधिक सीपले सहयोग पुर्‍याउने बताउनुभयो । जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान २४ जना गरी कुल ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।


उपचारको क्रममा मृत्यु

काठमाडौँ, नागर्जुन नगरपालिका-९ स्युचाटारस्थित सडक किनारामा रोकी राखेको बा।४ ख ४२१ नम्बरको बसभित्र घाइते अवस्थामा फेला परेका सिन्धुपाल्चोक चौतारा घर भएका उक्त बसका सहचालक १९ वर्षीय रमेश खत्रीको उपचारको क्रममा आइतबार मृत्यु भएको छ । बसभित्र सुतेका उनी शरिरको विभिन्न भागमा चोट लागेर वेहोस अवस्थामा गत साउन २८ गते फेला परेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जिप दुर्घटनामा चालकको मृत्यु, ११ जना घाइते

कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका-३ आमतडास्थित सडकमा क.१ ज २३ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपका चालक सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय बिक्रम गिरीको घटनास्थलमै मृत्यु भएको छ। अस्थाई प्रहरी पोष्ट सान्नीघाट र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उद्धार गरी राष्कोट अस्पतालतर्फ पठाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

काभ्रे, रोशी गाउँपालिका-७ कटुन्जेस्थित सडकमा आइतबार बिहान ढुङ्गा खसेर जनकपुरबाट आउँदै गरेको ज.८ प ७४९० नम्बरको मोटरसाइकललाई लाग्दा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहको मृत्यु भएको छ । ढुङ्गाले लागि गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो साथै ढुङ्गा लागेर गम्भीर घाइते भएका सोही मोटरसाइकलमा सवार धनुषा रामानन्धचोक घर भएका ३० वर्षीय सतिस कुमार साहको सोही अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


होटलको छतबाट लडेर मृत्यु

बर्दिया, राजापुर नगरपालिका-४ बसपार्कस्थित शिव होटलको ३ तला माथिबाट लडेर बाँके खजुरा गाउँपालिका-३ खजुरा घर भएका भे.१ ज ११४५ नम्बरको गाडीका चालक २६ वर्षीय कृष्ण विकको गएराति मृत्यु भएको छ । छतमा सुत्न गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया