• 11:34 am

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०३:३८

१० भाद्र, २०७८ काठमाडौँ : युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ कोटेश्वरबाट पक्राउ गरेको हो ।


उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, फोहर टिप्ने बहाना बनाई करिब नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट पक्राउ गरेको हो । साथै उनको साथबाट २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।


तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

भालुको पित्त सहित १ जना पक्राउ

बागलुङ, ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुनलाई करिब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्त सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पित्त फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


हत्या गरेको अभियोगमा २ जना पक्राउ

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन् । गिरीराज बुधबार दिउँसो घरबाट निस्की हिडेकोमा अबेरसम्म घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया