ओली गुमाएको गुमायै
प्रकाशित मिति
२०७८ भाद्र १० गते, बिहीबार ०२:१७
१० भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि २०७८ साल सुखद रहेन । उनले २०७८ साल लागेपछि निरन्तर शक्ति गुमाइरहेका छन् । ओलीलाई यो वर्ष एकपछि अर्को धक्का लागिरहेको छ । ओलीले बहुमत अनौपचारिक रुपमा गुमाइसकेका थिए । तर, औपचारिक रुपमा यो वर्ष नै गुमाए । जसका कारण शक्ति झर्दै गयो ।
गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार असारमा ढलेको थियो । गुरुङ्ग नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधवकुमार नेपाल समूहबीच गठबन्धन बनेको थियो । स्वतन्त्र सांसद दिपक मनाङेले समेत गुरुङ्गको साथ छाडेका थिए । गुरुङ्गले समेत शक्ति कता जाँदैछ भन्ने जानेका थिए । त्यसैले उनले ओली समूहको साथ छाडिहाले ।
ओलीलाई गण्डकीको धक्का लागेको केही समयमै केन्द्रमै सरकार ढल्यो । सर्वोच्च अदालतको संवैधानिक इजलासले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश नै जारी गरेको थियो । अदालतको परमादेशपछि सरकार स्वतः ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो ।
ओली सरकार ढलेपछि उनको सेटिङ भन्दै गठबन्धनको सरकारले आक्रामक कदमहरु चाल्न थाल्यो । ओलीका पालामा भएका नियुक्ति र निर्णयहरु धमाधम बदर गर्न थाल्यो । भूमि आयोग बदर भयो । राजदूतहरु फिर्ता गरिए । कतिपय नियुक्तिहरु खारेज भए । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लगेर कुलमान घिसिङलाई नियुक्त गरियो । ओलीले निरन्तर गुमाउँदै गए ।
लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । लुम्बिनीको शक्तिसंघर्षमा ओली पक्ष कमजोर भयो । माओवादीका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बने । एमाले ९ भदौ २०७८ मा विभाजित भयो । निर्वाचन आयोगले एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीलाई मान्यता प्रदान गर्यो । देशको सबैभन्दा ठूलो दल फुट्दा ओली त्यसका अध्यक्ष छन् । उनले पार्टीबाट ठूलो शक्ति गुमाए ।
ओलीले दुईवटा प्रदेशको सरकार जोगाउन माधव नेपालको साथ छाडेकाहरुलाई शक्तिमा ल्याए । डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री बनाए । प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईलाई हट्न निर्देशन दिए । ओलीका विश्वासपात्रहरु धमाधम पदमुक्त हुन थालेका छन् । उनले निरन्तर गुमाउँदै गएका छन् ।
बागमती र प्रदेश १ मा मुख्यमन्त्री परिवर्तनका बाबजुद सरकार टिक्न कठिन छ । आफ्ना विरोधी समूहकालाई नै मुख्यमन्त्री दिनुपर्ने वाध्यता ओलीसामु आइपुग्यो । उनले माधव नेपालको शक्तिसंघर्षका क्रममा निरन्तर गुमाउँदै गए । तर, माधव नेपाललाई कुनै हालतमा एमालेमा ठाउँ नदिने दृढनिश्चय पूरा गर्न जे जे गुमाउन पनि तयार भए ।
प्रतिकृया