• 1:19 pm

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नुपर्ने !

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार ०१:४१

jail Yl2qtyT8Xr

११ साउन, २०७८ काठमाडौँ : कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ ।


राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।


कैदीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् । “कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उनले भने, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।”


वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले जानकारी दिए ।
“कोरोनाको सङ्क्रमण बढ्ने खतरा छ” उनले भने, “सङ्ख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सकिएको छैन ।” जोखिम भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी,, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।



कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिए । “तत्कालै कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उनले भने, “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।” उनले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिए । : रासस

प्रतिकृया