• १०:४३ २०८० चैत्र १६ गते
  • 10:43 am

कटुवा पेस्तोल सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार १२:५४

pakraul

११ साउन, २०७८ काठमाडौँ : वीरगंज महानगरपालिका -१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका-२ बस्ने २० वर्षीय विक्रान्ता पटेल रहेका छन् । उक्त होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २-०३-०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाईरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


चोरी पैठारी गरी ल्याएका सवारी साधन सहित पक्राउ
काठमाडौँ ,
चोरी पैठारी गरी ल्याएका सवारि साधन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर मैरी फाँटा नगरपालिका-५ ठेगाना भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय कृष्ण बहादुर रोकाय रहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भारतबाट सवारी साधन चोरी गरी ल्याई विक्री भईरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँ बाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रदेश ३-००२३-७६२६ नम्बरको १ थान कार, बाग्मती प्रदेश ०२९६२ प १८ र बाग्मती प्रदेश ०२-१९ प ७२३७ नम्बरका २ वटा रोयल इन्फिल्ड मोटरसाइकल र बाग्मती प्रदेश ०२-१९ प ७५३७ नम्बरको १ थान केटिएम आरटी मोटरसाइकल गरी जम्मा ४ थान सवारी साधन प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कपिलवस्तु, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका-७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति पक्राउ गरेको छ । घर नजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
सिरहा,
बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनगढी नगरपालिका-१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई लामाले ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी पक्राउ
झापा,
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-५ ठेगाना भएका ४७ वर्षीय बिनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


अबैध लागूऔषध सहित पक्राउ
दाङ,
तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउ स्थित सडकबाट ७ ग्राम ६६ मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-६ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका २७ वर्षीय राज कुमार वलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट तुलसीपुरतर्फ आउदै गरेको रा.१ ख १७१८ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।



मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र वन्य जन्तुको जस्तो देखिने १ थान सिङ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका-२ बस्ने ४८ वर्षीय बिष्णु हरि अर्याल र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज अर्याल रहेका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ४५५ नम्बरको ट्रकलाई प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त वस्तु र गाँजा सहित फेला पारी ट्रक चालक विष्णु र ट्रकमा सवार सरोजलाई पक्राउ गरेको हो ।


एकनाले भरुवा बन्दुक बरामद
डडेल्धुरा
, आलिताल गाउँपालिका-२ तिमतारास्थित राधाकृष्ण सामुदायिक वनभित्र लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गाङखेतबाट खटिएको प्रहरीले वनमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
रूपन्देही
, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा लु.४८ प ३०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१६ बस्ने २२ वर्षीय मोहन पराजुलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमती २१ वर्षीया अनु पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।



कास्की, माछापुछ्रे गाउँपालिका-६ धिताल तल्लाफेदीस्थित सडकमा लु.२ च २७२५ नम्बरको बोलेरो जिप र ग.१२ प ५९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा रामकृष्ण टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यसैगरी, पोखरा महानगरपालिका-१७ बरालफिडस्थित सडकमा ग.१९ प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पोखरा बिरौटा बस्ने स्याङजा फेदिखोला गाउँपालिका-४ घर भएका ५० वर्षीय खेम बहादुर गुरुङको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात घर गएकोमा अचानक टाउको दुख्यो भन्दै बेहोस भएपश्चात उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


लडेर मृत्यु
नुवाकोट, तादी गाउँपालिका-६ स्थित गाडेपानी भिरबाट लडेर सोही ठाउँस्थित होर्सन चौर बस्ने १७ वर्षीया सरिता तामाङको आइतबार दिउँसो मृत्यु भएको छ । बाख्रा चराउन जाने क्रममा अचानक चिप्लिएर करिब ५ सय मिटर तल लड्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।


रुखको हाँगाले लागेर मृत्यु
धनकुटा, महालक्ष्मी नगरपालिका-२ हिलेखर्क बस्ने ५७ वर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला गुरुङले रुख काट्ने क्रममा रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी उनको धरान घोपा हुँदै सैनिक अस्पताल इटहरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।


करेन्ट लागेर मृत्यु
बाँके,
कोहलपुर नगरपालिका-१० रामनगरस्थित लक्ष्मी प्रसाद भुषाल फर्निचरमा काम गर्ने नेपालगंज उपमहानगरपालिका-२ बस्ने ४५ वर्षीय राजु कुरेसीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका उनको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु
मोरङ,
बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा डेढ वर्षीय राज कुमार महतोको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । मोरङ, लेटाङ नगरपालिका-५ बस्ने शरन कुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको सोही ठाउँस्थित मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।



सिरहा, लहान नगरपालिका-१४ बस्तिपुर बस्ने जिवछ पासवानको छोरा ६ वर्षीय सुभाष पासवानको डुबेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घरदेखि ५० मिटर टाढा रहेको पानी जमेको खाल्डोमा डुबेर घाइते भएका उनलाई उपचारका लागि लहानतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।


सुन तथा नगद चोरी
काठमाडौँ
, महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुन्दर लामाको कोठाबाट नगद ४ लाख रुपैयाँ र ४ आना सुनको मगलसुत्र शनिबार बिहान चोरी भएको छ । अपरिचित व्यक्तिले कोठाको ताला फुटाई चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने घनश्याम मैनालीको घरबाट १ थान टिभि, ४ थानको सुनको बाला र नगद २० हजार रुपैयाँ समेत गरी करिब २ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोका फोडी सामान चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
धादिङ,
गजुरी गाउँपालिका-८ किरानचोक बस्ने २२ वर्षीया सम्झना रोक्का आफ्नै घरदेखि करिब २ सय मिटर टाढा जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । साउन १ गतेदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



भोजपुर, षडानन्द नगरपालिका-११ तालपोखरी बस्ने ६९ वर्षीया पूर्ण माया विक आफ्नै घरदेखि करिब ५० मिटर टाढा बाटोको डिलमुनि आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया