• 5:25 pm

मोरङको उर्लाबारीस्थित एमाले बैठकस्थलमा तोडफोड

प्रकाशित मिति

२०७८ श्रावण ७ गते, बिहीबार ०३:००

७ साउन, २०७८ काठमाडौँ : मोरङमा नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ। बिहीबार उर्लाबारी नगरपालिका–८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको बैठक सुरु हुनुअघि तोडफोड भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना गरेको बताइएको छ।


कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको थियो। तर बिहान करिब साढे ११ बजे तोडफोडको घटना भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए। उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसा फुटाइएका छन्। गौतमका अनुसार बैठक बिथोल्ने क्रममा तोडफोड गरिएको हो।


तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ। यद्यपि नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा आफूहरुको कुनै संलग्नता नभएको जनाएका छन्। बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बदनाम गराउन आरोप लगाउने काम भएको छ।’


प्रहरीका अनुसार तोडफोडमा एमाले भातृ संगठन युवा संघ उर्लाबारीका युवा नेताको संलग्नता देखिएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा कुमार लिम्बू, एलिन लिम्बूको खोजी तीव्र पारिएको जनाएको छ। एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बैठकस्थलमा तोडफोड भए पनि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन गरिएको जानकारी दिए।

प्रतिकृया