अवैध लागूऔषध सहित ७ जना पक्राउ
प्रकाशित मिति
२०७८ श्रावण ७ गते, बिहीबार ०१:३८

७ साउन, २०७८ काठमाडौँ : काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित टङ्केश्वर जाने बाटोबाट करिब ६ सय ग्राम अवैध लागूऔषध चरेश सहित काठमाडौं सतुङगल बस्ने पर्सा ठोडी घर भएका २५ वर्षीय बिकास तमाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, गढवा गाउँपालिका-१ धान खोलास्थित हुम्ला रलिङ होटलबाट ९ किलो ९ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बाग्लुङ निसीखोला गाउँपालिका-१ बस्ने २१ वर्षीय सुदिप सिजाली मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्दा १० वटा इँट्टा आकारमा रहेको उक्त पदार्थ सहित फेला पारी मगरलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न बाग्लुङ बडिगाउ गाउँपालिका-२ बस्ने ३१ वर्षीय रेम बहादुर भुजेललाई समेत दाङ लमही नगरपालिका-५ स्थित राप्ती गेष्ठहाउसबाट प्रहरीले पक्राउ गरेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउस्थित सडकमा ना.४ ख ७२९४ नम्बरको बसबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपलिका-६ भिआईपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी बिश्वकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट दाङतर्फ आउँदै गरेको उक्त बसलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चामु कुमारीले ब्यागमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका-५ बागबजारबाट करिब ३ सय ९० ग्राम अवैध लागूऔषध चरेश जस्तो दखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागबजारस्थित क्याटर पिलर रेष्टुरा नामको होटेल संचालन गरी बस्ने डोटी शिखर नगरपालिका-४ बस्ने ३२ वर्षीय हेम जोरा र किराना पसल संचालन गरी बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-४ खलङ्गा घर भएका ४० वर्षीय डम्बर रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले शंकास्पद होटेल तथा पसलहरु जाँच गर्ने क्रममा हेमको होटेलबाट २ सय ग्राम र रावलको किराना पसलबाट १ सय ९० ग्राम गरी उक्त परिमाणको पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार जनिकबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २१ वर्षीय शैलेस अवस्थीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दुईनाले भरुवा बन्दुक सहित पक्राउ
कास्की, पोखरा महानगरपालिका-१ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका-१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौँ , काठमाडौँ महानरगपालिका-११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा दिनेश कुमार लगायत ६ जना पुरुष र ६ जना महिला गरी जम्मा १२ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९१ हजार ४ सय रुपैयाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपैयाँको बिभिन्न बैंकका ५ वटा चेक सहित पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-११ बस्ने ३८ वर्षीय बिष्णु जिवन धिताल ९सन्ज्याल०लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
रौतहट, राजपुर नगरपालिका-२ बमनहरस्थित सडकमा स.१ प ५९९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ फतुवा टोल बस्ने ७२ वर्षीय शेख जहरुलको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौर हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ईशनाथ नगरपालिका-४ लक्ष्मीनिया टोल बस्ने १७ वर्षीय आजम हुसेनको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भईरहेको छ ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ आदर्शचोकस्थित सडकमा बाग्मती प्रदेश-०१-००६ ख २०३८ नम्बरको टिपरमा बाग्मती प्रदेश-०२-०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
कपिलवस्तु, कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजार डेरा गरी बस्ने गुल्मी मदाने गाउँपालिका-५ सिमलटारी घर भएकी ३० वर्षीया सिता परियारको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । घरको छतमा फोन गरिरहेको अवस्थामा नजिकैको विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बर्दिया, बारबर्दिया नगरपालिका-८ बस्ने ५२ वर्षीय जोखन थारु सोही नगरपालिका-९ स्थित राष्ट्रिय निकुञ्जभित्र रहेको कालापानी नालामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । जोखन र उनकै फुपुका छोरा ४५ वर्षीय गौरीशंकर थारु बर्दिया राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएकोमा जोखन घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नालामा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-१० स्थित माई खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पहिरोको कारण धनमाल नष्ट तथा सडक अवरोध
सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे होटेलको जगको जमिन बुधबार दिउँसो भासिँदा करिब ५५ लाख रुपैयाँ बराबरको विभिन्न सामान नष्ट भएको छ । उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले पहिरोमा परी घाइते भएका सोही होटेलका ग्राहक सल्यान कुमाख गाउँपालिका-२ बस्ने ५० वर्षीय लिल बहादुर रावतलाई स्वास्थ्य चौकी मेलकुना सुर्खेत हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको छ । साथै घाइते भएका सोही होटेलमा काम गर्ने रुकुम पश्चिम सानोभेरी गाउँपालिका-८ बस्ने १३ वर्षीय युबराज डाँगी स्वाथ्य चौकी मेलकुनामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रतिकृया