• 8:08 pm

मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ०३:२६

६ साउन, २०७८ काठमाडौँ : नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दै आएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २ सय २ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।


तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए । ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी रु नौ लाख २५ हजार जरिवाना गरेको थियो ।


यसैबीच गत आर्थिक वर्षमा एक हजार ८ सय ३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । –रासस

प्रतिकृया