• 4:15 pm

प्रजातान्त्रिक समाजवादका प्रतिपादक बीपीमा श्रद्धाअर्पण

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ०१:५९

-ऋषि खनाल
६ साउन, २०७८ काठमाण्डौँ :
आजैका दिन २०३९ साल साउन ६ गते नेपाली काँग्रेसका महानायक तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रणेता महामानव विपी कोईरालाको मृत्यु भएको थियो । बिपीकोे भौतिक अवसान भएको आज ३९ वर्ष पूरा भएको छ । मानिसमात्र मर्ने हो तर उसका विचार जीवित रहिरहन्छन् भन्ने यथार्थ उहाँका विचार आजसम्म जस्ताको त्यस्तै रहिरहेबाट पुष्टि हुन आउँछ । बीपी कोइराला प्रजातान्त्रिक समाजवादका भाष्यकार हुनुहुन्थ्यो ।


यसलाई परिभाषित गर्ने क्रममा उहाँले अनेकौं अभिव्यक्तिहरू दिनु भएको थियो । जुन हालका दिनसम्म नेपाली कांग्रेसमा मात्र नभएर नेपाली समग्र राजनीतिक वृत्तमा चर्चामा आइरहेका छन् । नेपाली राष्ट्रिय कांग्रेसको संस्थापनाको समयदेखि नै उहाँको विचारले निरन्तरता पायो । नेपालको माटो सुहाउँदो प्रजातान्त्रिक समाजवादका प्रतिपादक कोईरालाकै पहलमा राष्ट्रिय कांग्रेसको प्रजातन्त्र कांग्रेससँग एकता सम्भव भयो । दुवैको लक्ष राणा शासन हटाउने र प्रजातन्त्र स्थापना गर्ने नै थियो तर प्रजातान्त्रिक कांग्रेससँग धन त थियो तर कार्यकर्ता थिएनन् अनि राष्ट्रिय कांग्रेससँग कार्यकर्ता थिए तर धन थिएन । त्यसैले एक भएर जानुपर्ने धारणा अनुरुपनै कोईरालाले दुबै पक्षबिचको एकतालाई महत्व दिनु भएको थियो । उहाँको यही सोचनुरूप तत्कालीन प्रजातन्त्र कांग्रेसका नेताहरूको आर्थिक सहयोगमा २००७ सालको क्रान्ति भएको थियो जुन सफल भयो ।


बीपी कोइराला विचार पुञ्च हुनुहुन्थ्यो । उहाँले बेलाबेलामा व्यक्त गरेका विचारहरू जीवन्त छन् । यीमध्ये कतिपय विचारले निरंकुश विचारका व्यक्तिहरूको हृदयमा झस्का पर्ने गथ्र्यो । यसरी झस्किनेमध्ये राजा महेन्द्र पर्थे जसको बीपीप्रतिको मनोवैज्ञानिक भयका कारण प्रजातन्त्रको हत्या गरी उनले पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए भने बीपीलाई निरन्तर आठ वर्षसम्म जेल राखिएको थियो । बीपीलाई भौतिक कैद गरिए पनि बौद्धिक कैद गर्न कसैले सकेन । त्यसको परिणम उहाँका दर्जन कृति नेपाली साहित्य जगतले प्राप्त ग¥यो । उहाँका यस्ता कृतिहरू कालजयी छन् र यिनको चर्चाविना हाल नेपाली साहित्यको पूर्णता कल्पना हुनै सक्दैन ।


साहित्यक फाँटमा मात्र होइन नेपाली समाज चिन्तन र परिवर्तनमा पनि उहाँका साहित्यको गहिरो छाप पर्न पुगेको छ । उहाँ बौद्धिक साहित्यकार हुनुहुन्थ्यो । राजनीतिमा उहाँ नेपाली कांग्रेस पार्टीको संस्थापक र संवाहकमात्र होइन सिद्धान्तका प्रतिपादक र विश्लेषकसमेत हुनुहुन्थ्यो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेका उहाँका विचार र विश्लेषणहरू अजर र अमर छन् तथापि समय सन्दर्भअनुसार हालका दिनहरूमा पार्टी केही संशोधित मार्गमा छ । उहाँका समयमा विश्व परिवेश र राष्ट्रिय परिस्थिति हेरेर उहाँले तिनको विश्लेषण गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगको कार्यकक्षमा रहेको राजाको तस्वीरको छेउमा हलो जोत्दै गरेको किसानको तस्वीर राख्न दिएको सुझाव, राष्ट्रियताको अलमलमा माटो हातमा लिएर त्यससँग सोध्नुपर्ने सल्लाह र समाजवादका बारेमा गाई र त्यसको दूधका उदाहरण दिएर उहाँले गर्नुभएको विचारको अभिव्यक्ति नेपालका सन्दर्भमा हालसम्मै कसैसँग तुलना हुनै सक्दैन ।


राष्ट्रिय मेलमिलापको नीति र राजाबारेको उहाँको धारणा आत्मसमर्पणका रूपमा बुझ्नेहरूले नै उहाँको नीतिलाई त्यसबेला सफल हुन त दिएनन् नै राजालाई पनि गोलचक्करभित्र घुमाइरहे । आज त्यसको सान्दर्भिकताको बोध भइरहेको छ । नेपाली कांग्रेसका सिद्धान्तमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई उहाँले नै समावेश गर्नुभएको थियो । साम्यवादमा प्रजातन्त्र थप्यो भने समाजवाद हुन्छ र समानवादबाट प्रजातन्त्र घटायो भने साम्यवाद बाँकी रहन्छ भन्ने व्यक्ति हुनुहुन्थ्यो बीपी कोइराला । हाल आएर बीपी एउटा व्यक्ति होइन संस्था हो वा विचारको स्रोत हो भन्ने प्रमाणित भएको छ । आज उहाँले स्थापन गर्नुभएको नेपाली कांग्रेस पार्टी ७५ वर्षको इतिहास रच्दै अगाडि बढिरहेको छ ।

प्रतिकृया