• 12:03 am

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०२:४८

४ साउन, २०७८ काठमाडौँ : मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


अवैध लागूऔषध सहित पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी, सोही ठाउँ बस्ने ४० वर्षीय बरिष्टर सहनी र ५२ वर्षीय राम आदेश सहनी रहेका छन् । ना.१ ब ३५९५ र ना.६२ प १९४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले जाँच गर्दा ना.१ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्समा उक्त वस्तु फेला पारी सोही मोटरसाइकलका चालक अमेरिका सहनी र ना.६२ प १९४२ नम्बरका मोटरसाइकल चालक बरिष्टर र सोही मोटरसाइकलमा सवार राम आदेशलाई प्रहरीले पक्राउ गरेको हो ।


सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडाैँ, महानगरपालिका-२६ नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२.०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ -०१-००३ क ४९९४ नम्बरको आईचर क्रेनले आइतबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका-४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । आईचर क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



अछाम, मंगलसेन नगरपालिका-१४ कालागाउँस्थित सडकमा कालागाउँबाट ठाँटीखादतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जेसिबीमा सवार ढकारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय राम बहादुर साँउदको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जेसिबीका सह-चालक समेत २ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । हाल फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।



मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडी लेवटस्थित सडकमा हेटौंडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना.२२ प ६७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



महोत्तरी, मनरा सिसवा नगरपालिका-२ भोल्ही चोकस्थित सडकमा सरपल्लोबाट भोल्हीचोकतर्फ जाँदै गरेको अन टेष्ट लेखीएको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय मोहिम मसुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।



चितवन, भरतपुर महानगरपालिका-१ मुग्लिङ नारायणगढ सडक-खण्डमा नारायणगढबाट मुग्लिङतर्फ जांदै गरेको बा.२ ख ९३६१ नम्बरको हाईस गाडीको ठक्करबाट भरतपुर महानगरपालिका-२९ भतेरी बस्ने ८२ वर्षीया सुकमाया मगरको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


रुपन्देही, तिलोत्तमा नगरपालिका-६ स्थित भित्री सडकमा लु.२९ प ७०८५ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको स्यालसँग ठोकिएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ गणेशपुर बस्ने १९ वर्षीय गोमन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

ओखलढुङगा, मानेभञ्ज्याङ गाउँपालिका-६ बस्ने भक्तिसरी राईको गोठमा आइतबार दिउँसो आगलागी हुँदा सोही आगलागीमा परी मावली घर आएकी सिन्धुली फिक्कल गाउँपालिका-५ बस्ने समिता राई खड्काकी छोरी ४ वर्षीया धन कुमारी खड्काको मृत्यु भएको छ ।


गोरखा, पालुङटार नगरपालिका-५ ठाँटीपोखरी बस्ने प्रेम बहादुर गुरुङको मिनी मार्टमा बिद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट मिनीमार्टमा आंशिक क्षति भएको छ ।


चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गाचोकस्थित तेज न्युरेको तेज ईन्टर प्राईजेजमा वल्डिङ गर्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा करिब ८१ लाख ६८ हजार ३ सय ५२ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर नजिकै रहेको कँडेल हार्डवयर पसलमा समेत आगलागी हुँदा करिब ५ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

प्रतिकृया