• 7:56 am

प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ०१:५३

police e1653565475255

९ असार, काठमाडौँ : प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७७ असोज ३० गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशन गरिएको छ । लिखित परीक्षामा उत्तीण हुने उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालन हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।


पानामा पठाउँछु भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा टोखा नगरपालिका-१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

अटोमेटिक पेस्तोल सहित २ जना पक्राउ

सिरहा, गोलबजार नगरपालिका-९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव रहेका छन् । उक्त बगैंचामा हातहतियार सहित मानिस बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया