नेपाललाई फकाउन ओलीले खटाए विष्णु पौडेल र सुवास नेम्वाङ्ग
प्रकाशित मिति
२०७८ असार २९ गते, मंगलवार १२:४५

२९ असार, काठमाडौँ : एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन आफ्ना ‘दूत’हरु खटाएका छन्। सरकारबाट बाहिरिनु भन्दा पहिले बालुवाटारमा आफ्नो पार्टी एमालेको स्थायी कमिटी बैठक डाकेका ओलीले उक्त बैठकमा सहभागिताको निम्तोसहित नेताहरु विष्णु पौडेल र नेता सुवास नेम्वाङ्गलाई नेपाल निवास पठाएका हुन्।
नेपाल निवास स्रोतका अनुसार पौडेल र नेम्वाङ्ग केहीबेर अघि कोटेश्वर पुगेका छन्। उनीहरुबीचको छलफलमा नेता भीम रावल पनि मिसिएका छन्। त्यसअघि नेता नेपालले सुरेन्द्र पाण्डेसँग छुट्टै छलफल गरेका थिए। ओलीले मंगलबार दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक डाकेका छन्।
सर्वोच्च अदालतले संसद पुनस्स्थापना गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो। संसद विघटन विरुद्ध विपक्षी गठबन्धनमा रहेको नेपाल पक्ष आगामी बाटोबारे निष्कर्ष निकाल्न व्यस्त बनेको छ।
प्रतिकृया