• 5:26 pm

कटुवा पेस्तोल सहित पक्राउ

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार ०४:१९

काठमाडौँ : सिरहा गोलबजार नगरपालिका–४ बाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ३ राउण्ड गोली सहित औरही गाउँपालिका–२ बस्ने सुजित कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ

बारा, कृर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका–४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना.१ ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जैसवाल रहेका छन् ।


जितपुर , सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजातहरु जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।


थप अनुसन्धानको क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर, १ थान सिपियू र १ थान मनिटर सहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धी कसूर ९किर्ते मुद्दा०मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


अवैध लागूऔषध सहित पक्राउ
काठमाडौँ, सुनसरी, इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध १ हजार ट्याब्लेट नाईट्रोसन, नगद ४० हजार ५ सय रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–५ बस्ने २२ वर्षीय मनिर उदिम मिँया र ईनरुवा नगरपालिका–३ बस्ने ५७ वर्षीय नारायण प्रसाद सिवाकोटी रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध किनबेच गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


उदयपुर, बेलका नगरपालिका–५ खैरवनी बस्ने २२ वर्षीय संतोष तामाङलाई करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बेचबिखेन भईरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


झापा, शिवसताक्षी नगरपालिका–६ चोक बजारबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद १३ हजार रुपैयाँ र ४ थान मोबाइल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–६ बस्ने २३ वर्षीय रियाज अन्सारी र सोही नगरपालिका–४ बस्ने २१ बर्षीय संजय प्रधान रहेका छन् । को।७ प ४९०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय झिलझिले र ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ,
कञ्चनपुर , सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका–४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका–२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिएको अभियोगमा पक्राउ

मोरङ , सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका–२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


बाढीपहिरोको कारण मृत्यु तथा सडक अवरोध
काठमाडौँ, सिन्धुली, मरिण गाउँपालिका–५ बडीमुहानस्थित प्रदेश २–०२–००१ त २६५७ नम्बरको ट्याक्टर मरिण खोला तर्ने क्रममा आइतबार दिउँसो बाढी आउँदा ट्याक्टर बगाई खोलाको बिच भागमा पल्टिदा ट्याक्टरले किचिएर ट्याक्टर धनि घ्याङलेख गाउँपालिका–३ बस्ने ४८ वर्षीय बल बहादुर गोलेको मृत्यु भएको छ । बाढी आउँदा ट्याक्टर चालक सहित ३ जना सवार रहेकोमा २ जना हाम फाली भागेको र १ जनालाई उक्त ट्याक्टरले किचिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले बलबहादुरको शव फेला पारेको हो ।


खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–११ साप्सु खोलामा निर्माण भईरहेको साप्सु हाईड्रो पावरमा काम गर्ने प्युठान, प्युठान नगरपालिका–१ धेचौर बस्ने २५ वर्षीय लाल बहादुर खत्रीको पहिरोमा पुरिएर आइतबार साँझ मृत्यु भएको छ । पानी सप्लाई गर्ने फलामको पाईपभित्र पसी वेल्डिङ गर्ने क्रममा पहिरोले पुरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी भण्डारेघाटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।


अछाम, पञ्चदेवल बिनायक नगरपालिका–२ मध्य पहाडी राजमार्गस्थित लिची सामुदायिक वन नजिक आइतबार दिउँसो पहिरो जाँदा सुर्खेत मंगलसेन सडक खण्ड अबरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।


मुस्ताङ, बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ समरस्थित बाटो निर्माणको लागि ब्लास्टिङ गर्ने क्रमामा आइतबार दिउँसो ढुङ्गा आई जोमसोम लोमान्थाङ सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


चितवन, इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित नारायणगढ मुग्लिन सडक खण्डमा सोमबार बिहान ढुङगा र लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले सडक डिभिजनसँग समन्वय गरी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


सवारी दुर्घटनामा ३ जनाको मृत्यु
रूपन्देही, तिनाउ गाउँपालिका–२ सिस्नेरीस्थित सडकमा लु.२ त २५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ दोभान बस्ने ३८ वर्षीय दुर्गा बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


मोरङ, सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.१ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बसमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन कटेलको आइतबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


महोत्तरी, गौशाला नगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार औरही नगरपालिका–४ कबिलासा बस्ने २३ वर्षीया निसा साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु
बारा : प्रसौनी गाउँपालिका–६ बेलहिया टोल बस्ने ४५ वर्षीय कृष्णा मुरारी राउत अहिरको छोरा १२ वर्षीय गौरी शंकर यादबको सोही ठाउँस्थित वग्री खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौं, असारकास्की, पोखरा महानगरपालिका–३२ खुदी खोला र ताल खोलाको दोभानमा सोही ठाउँ बस्ने धादिङ घर भएका ७६ वर्षीय टंक प्रसाद रिजाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।


पर्सा, वहुदरमाई नगरपालिका–६ गमहरीया बस्ने ६५ वर्षीय नगिना साह कानु आइतबार मृत अवस्थामा फेला परेका छन् । ट्वाइलेट गर्न गएको धेरै समयसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि ५ सय मिटर टाढा माछापोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।


भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।


सुनसरी, ईटहरी उपमहानगरपालिका–१३ खिरखिरिया टोलस्थित बाटोको छेउमा हाल नाम, थर, वतन, नखुलेकी ६० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सप्तरी , हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनिया बस्ने ५५ वर्षीय गंगा प्रसाद मण्डलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । साथै आगो नियन्त्रणमा लिने क्रममा घाइते भएका उनकै छोरा ३० वर्षीय रामनारायण मण्डललाई उपचारका लागि भारदह अस्पतालमा पठाइएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया