• 4:36 pm

मध्यपुरथिमि नगरपालिकाको बजेट ३ अर्ब ३८ करोड

प्रकाशित मिति

२०७८ असार २७ गते, आईतवार ११:३४

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट पारित गरेको छ । शनिबार सम्पन्न नगरपालिकाको पाचौँ नगरसभाले नगरपालिकाको आगामी वर्षको वार्षिक नीति, कार्यक्रम र योजना सर्वसहमतिले पारित गरेको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।


नगरसभाले नगरपालिकातर्फ एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजना तर्फ ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालतर्फ ६५ करोड ९३ लाख ७६ हजार रकम समेत गरी तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट सर्वसहमतिले पारित गरेको हो । नगरपालिकातर्फको एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार मध्ये चालु तर्फ २७ करोड ९१ लाख २२ हजार, वडागत योजना तथा कार्यक्रमको लागि २७ करोड ९ लाख, नगरस्तरीय सार्बजनिक निर्माण समेतका लागि ६५ करोड ५० लाख २ हजार रुपैयाँ रहेको छ ।


पूर्वदायित्व श्रृजना भएका क्रमागत आयोजनाकालागि १४ करोड ४५ लाख, संघीय हस्तान्तरित कार्यक्रमतर्फ २१ करोड ९० लाख, प्रदेश सर्सत अनुदान २ करोड ५४ लाख ९० हजार र प्रदेश समपुरक अनुदान तर्फ २ करोड २० लाख ३४ हजार, जि.बि.स सड़क बोर्ड समपुरक र म्याचिङ्ग अनुदानको लागि १५ करोड ७४ लाख बिनियोजन गरिएको छ ।


नगर सभाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक आय ९मौज्दात समेत० बाट ८३ करोड ७१ लाख ८० हजार, राजस्व बाँडफाड संघिय र प्रदेशबाट ४० करोड ८१ लाख ५७ हजार, संघिय सरकारको समानीकरण अनुदानबाट २२ करोड ७७ लाख, समानिकरण प्रदेश सरकारबाट २ करोड ३ लाख ८७ हजार, सशर्त अनुदान तर्फ २१ करोड ९० लाख , स्थानीय तह बिशेष अनुदान १ करोड, नगद जनसहभागिता ३५ लाख, सामाजिक सुरक्षा वापत १५ करोड, सर्सत अनुदान चालु प्रदेश सरकार २ करोड ५४ लाख ९० हजार अनुदान २ करोड २० लाख ३४ हजार रुपैयाँ रहेको छ ।


नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीहरुको समायोजनका लागि कर्मचारी समायोजन विधेयक २०७८ स्वीकृत गरेको छ । सो विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीहरुको समायोजनका लागि बाटो खुला गरेका छन् ।


सभाले कोरोना महामारीबाट श्रृजित असमान्य परिस्थितिमा अफिस सुरक्षा, जनजीवनको सुरक्षा लगायतको काममा सहजीकरण गर्न हाल कार्यरत २० जना नगर स्वयम सेवकलाई ब्यबस्थापन गर्ने निर्णय गरेको छ । यस्तै, नगर प्रहरी सम्बन्धमा हाल कार्यरत नगर प्रहरीलाई निरन्तरता दिदै बाँकी दरबन्दीमा नियमानुसार सेवा करारमा पदपूर्ति गर्ने निर्णय गरेको छ ।


चालु आ.ब. ०७७/७८ मा करारमा कार्यरत कर्मचारीहरुलाई प्रचलित नियमानुसार आगामी आ.ब. ०७८/७९ को लागि करार नबिकरण गर्ने, करार नबिकरण गर्दा प्रचलित कानून अनुसार न्यूनत्तम पारिश्रमिक भन्दा घटी नहुने गरि ब्यबस्था गर्ने निर्णय गरेको छ ।

प्रतिकृया