म्याराडोनाको फ्रिकिकको कीर्तिमान नजिक मेस्सी
प्रकाशित मिति
२०७८ असार २१ गते, सोमबार ०१:१२
एजेन्सी : कोपा अमेरिकाको क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लियोनेल मेस्सीले अर्जेन्टिनालाई जीत दिलाए । बार्सिलोनाका स्टार खेलाडीले उक्त खेलमा दुईवटा गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यमा फ्रिकिकबाट उत्कृष्ट गोल पनि गरे ।
रोचक कुरा, खेलको ९० औँ मिनेटमा उनले गरेको गोल फ्रिकिकबाट उनको ५८ औँ गोल थियो । योसँगै उनी डिएगो म्याराडोनाले बनाएको ६२ फ्रिकिक गोलको अर्जेन्टिनी कीर्तिमान नजिक पुगेका छन् । मेस्सीले फ्रिकिकबाट गरेका ५८ गोलमध्ये बार्सिलोनाका लागि ५० र राष्ट्रिय टोलीका लागि ८ गोल रहेका छन् । मेस्सीले हालसम्म गरेका ७४८ गोलमध्ये ७.७५ प्रतिशत गोल डाइरेक्ट फ्रिकिकबाट आएका छन् । उता म्याराडोनाको ३५३ गोलमध्ये १७ प्रतिशत गोल फ्रिकिकबाट रहेका छन् ।
क्रिस्टियानो रोनाल्डोले हालसम्म फ्रिकिकबाट ५६ गोल गरेका छन् । यसमध्ये रियल म्याड्रिडका लागि ३२, म्यानचेस्टर युनाइटेडका लागि १३, पोर्चुगलका लागि १० र युभेन्टसका लागि एक गोल रहेका छन् । फ्रिकिकबाट सर्वाधिक गोल गर्ने कीर्तिमान भने ब्राजिलका जुनिन्होको नाममा रहेको छ । उनले ७७ गोल गरेका छन् । दोस्रो स्थानमा ७० गोलसहित पेले रहेका छन् । डेभिड बेकह्यामले फ्रिकिकबाट ६५ गोल गरेका छन् ।
प्रतिकृया