विघटन विरुद्धको रिटमा जवाफी बहस निरन्तर
प्रकाशित मिति
२०७८ असार २१ गते, सोमबार ११:५३
काठमाडौँ : प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सोमबार पनि जारी छ । काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन् ।
जवाफ दिनका लागि संवैधानिक इजलासले छुट्याएको समय मध्ये २ घण्टा दुई मिनेट बाँकी छ । सो समय भित्र निवेदक तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुईजना एमिकस क्युरी छनोट भएका छन् ।
एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन् । नेपाल बारबाट बरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीमा प्रतिनिधित्व गरेका छन् ।
प्रतिकृया