• 6:45 am

अबैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७८ असार २० गते, आईतवार ०५:२५

काठमाडौँ : मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ बस्ने ३६ वर्षीय कमल शर्मालाई १२ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाउँ शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले जाचँ गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।



सिरहा, अबैध लागूऔषध गाँजा बोकी लैँजादै गरेको अवस्थामा उक्त गाँजा फाली फरार भएका धनगढीमाई नगरपालिका-१२ बस्ने ३५ वर्षीय संजय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका-४ धन्छवारमा शुक्रबार साँझ करिब १० किलो गाँजा बोकेका उनी ईलाका प्रहरी कार्यालय धनगढी र महेशपुरपतारबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा छोडी फरार भएकोमा खोजी गर्न क्रममा धनगढीमाई नगरपालिका-१० धनगढी बजारमा शनिबार साँझ फेला पारी पक्राउ गरेको हो ।


कैलाली, घोडाघोढी नगरपालिका-१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल थापा र १९ वर्षीय श्याम मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।


मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-८ बोधडाडा बस्ने २५ वर्षीय सुदिप मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ३४६८ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी अटो चालक सुदिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके,
आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका-२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको र गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


भन्सार छलि ल्याएको विभिन्न सामान बरामद
बाँके,
अबैध रूपमा भन्सार छलि ल्याएर नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाको सोही महानगरपालिका-७ एमपिस्कुल नजिक कोठामा लुकाई राखेको करिब ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल तथा गाडीका पार्टपूर्जा र कपडा शनिबार साँझ प्रहरीले बरामद गरेको छ । उनको कोठामा अबैध भन्सार छलिको सामान राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो । हाल फरार कवडियाको प्रहरीले खोजी गरिरहेको छ । बरामद सामान भन्सार कार्यालय बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौँ,
टोखा नगरपालिका-९ दिपज्योतीस्थित सडकमा बा.२ क ३४६६ नम्बरको टिपरले प्रदेश-०३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक टोखा नगरपालिका-९ बानियाटार डेरा गरी बस्ने नुवाकोट बेलकोट नगरपालिका-६ घर भएका २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दिपेश थापा रहेका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।


टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीस्थित सडकमा रा।१ त १९३१ नम्बरको ट्याक्टर पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । स्याङजा, चापाकोट नगरपालिका-१ गैरीथरस्थित सडकमा लु.२० प ३९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु
बारा,
सुवर्ण गाउँपालिका-७ सन्फुलवा बस्ने ३० वर्षीय मुन्ना प्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


ताप्लेजुङ, सिरिजंघा गाउँपालिका-२ पुल्चोकस्थित सुन्तली हाईड्रोपावरमा काम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय प्रमोद कुवरको काम गर्ने क्रममा अचानक करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।


ईलाम, माङसेबुङ गाउँपालिका-५ बस्ने ४० वर्षीय प्रविन राइको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । माई नगरपालिका-४ स्थित घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि माई नगरपालिकाको तारा मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धना गरिरहेको छ ।

डुबेर मृत्यु
उदयपुर,
चौदण्डीगढी नगरपालिका-७ बेल्टारस्थित मदन चोक बस्ने ६५ वर्षीय गुमशेर राईको खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित द्दवार खोला तर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले स्थानियको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब २ सय मिटर तल शव फेला परेको हो ।



दाङ, लमही नगरपालिका-८ भौका बस्ने छोटु लाल चौधरीको १० वर्षीय छोरा अमित चौधरीको खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित भौका खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।-


कैलाली, धनगढी उपमहागरपालिका-१९ फुलवारी साझघारी टोल बस्ने भिम बहादुर परियारको १५ वर्षीय छोरा सागर परियारको नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही उपमहानगरपालिका-१८ एफ गाउँस्थित मामाघरमा बस्दै आएका उनको सोही ठाउँस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।



सर्लाही, बागमती नगरपालिका-१० बस्ने ओजिर शेखकी ८ वर्षीया छोरी सहाना खातुनको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । साथीहरुसँग खेल्न गएकोमा अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


बिजुलीको पोलबाट लडेर मृत्यु
बारा,
जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित विजुलीको पोलमाथि रहेको ट्रान्सफर्मर बनाउने क्रममा लडेर सोही ठाउँ बस्ने ३६ वर्षीय शुभ नेपालको शनिबार साँझ मृत्यु भएको छ । उक्त पोलबाट ट्रान्सफर्मर सहित लडेर गम्भीर घाइते भएका उनको सिमरास्थित अल्पईन अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।


मृत अवस्थामा फेला
नवलपरासी(पूर्व),
बिनयी त्रिबेणी गाउँपालिका-७ लक्ष्मिपुरस्थित भारतिय नहरको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।


उदयपुर, कटारी नगरपालिका-४ चिम्टाघारी स्थितमा अनुहार तथा लिङ्ग पहिचान गर्न नसकिने तथा अगाडी भाग कुहिएको अवस्थामा शनिबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
ईलाम,
इलाम नगरपालिका-४ बस्ने मनकुमार राईको सोही नगरपालिका-१ साखेजुङस्थित पुवाखोला ललिपप उद्योगमा दुध तताउनको लागि बालेको आगो सल्किएर शुक्रबार राति आगलागी हुँदा करिब १० क्विन्टल छुर्पि, १ थान ललिपप बनाउने मेशिन, काठपात, टिन, भाँडाकुडा समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


रुपन्देही, सिद्धार्थनगर नगरपालिका-४ बस्ने पंकज अग्रवालको रिमोन एग्रो प्रालिको मेशिनमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा १ थान ड्राइमेसिन, १० क्विन्टल सोयाबिन बीओसी र २ क्विन्टल सोयाविन समेत जलेर करिब १३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया