भागबन्डामा लागेका प्रतिपक्षसँग सरकारको विरोध गर्ने नैतिक अधिकार छैनः बिजुक्छे
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०७:०४

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दलहरु सत्तामा जाने लुछाचँुडी छाडी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । समसामयिक राजनीतिबारे संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले प्रजातन्त्रको एउटा महत्वपूर्ण सर्त निर्वाचन हो भन्दै सर्बोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गरेर यही सन्देश दिएको बताउनुभयो ।
भागबन्डामा लागेका प्रतिपक्षसँग सरकारको विरोध गर्ने नैतिक अधिकार रहँदैन भन्दै उहाँले आफै सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण झगडा भैरहेको बताउनुभयो । निर्वाचनबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै सरकारमा जाने बाटो चुनावपछि पनि हुने भएकाले जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
शासक दलका नेताहरु स्वच्छ मतिले बोलिरहेका छैनन् भन्दै उहाँले संसद् र राजतन्त्र पुनःस्थापना हुन्छ भन्ने अनुमान गर्नु एउटा तर तर्कले पुष्टि गर्नु अर्को कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“आफै प्रधानमन्त्री र मन्त्री बन्नुपर्ने मानसिकता भएकाहरुबाट के आशा गर्नु र उहाँहरुको चालबाट के होला र नहोला भन्न सकिन्न”।
ओलीसँग नमिलेको हो भने अलग्ग पार्टी बनाउन माधब नेपाललाई कसले रोकेको छ उहाँले भन्नुभयो ।कम्युनिस्टहरुले पुँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन् भन्दै नेपाली कांग्रेस या देउवालाई अहिले आएर प्रगतिशील देख्नु पछाडि कि त बुद्घि बिग्रेको वा विदेशीले मिलाइदिएको कारण हुन सक्छ बिजुक्छेको धारणा छ ।
उहाँले दुई पार्टी ब्यवस्था नै गलत रहेको र वेस्टमिनिस्टर सिस्टम असफल सिद्घ हुँदै गएको बताउनुभयो ।घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन भन्दै विपक्ष मोर्चालाई भारतीय विस्तारवादको दबाब छ भन्ने प्रस्ट बुझ्न सकिने बताउनुभयो ।
भनेजस्तो नगरे भारतले पुरानो खाता पल्टाउने र सबै खुल्ने डर उनीहरूमा रहेको उहाँले बताउनुभयो ।शासक दलहरू दक्षिणबाट प्रभावित छन् भन्दै अहिले नेपालको सन्दर्भमा भारतको दुबै हातमा लड्डु रहेको अबस्था छ भन्नुभयो । देशमा यदि विदेशी प्रभाव छ भने त्यो दक्षिणको भएको बताउदै अहिले प्रचण्ड प्रायश्चित्त गर्दै छन् भन्ने देखिन्छ भन्नुभयो ।
बिजुक्छेले संसदले गर्ने काम एक एक गरेर अदालतलाई जिम्मा दिनु उपयुक्त नहुने बताउनुभयो । यदि जनता र अदालतले गर्ने काम अदालतलाई जिम्मा दिने हो भने अर्को संबिधानमा सोही अनुसार बन्दोबस्त हुनुपर्ने बताउनुभयो ।
बिपक्षी दलहरु अदालत जानु अनौठो नभएको भन्दै उहाँले यस अघि पनि उनीहरु अदालत गएको उल्लेख गर्नुभयो ।नेमकिपाले निर्वाचनलाई उपयुक्त विकल्प भनेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको समर्थनको नगरेको संकेत गर्दै उहाँले नेमकिपाले निर्वाचनको विरोध र स्वीकारको सर्त आफ्नो दल सरकारमा सहभागी हुने वा नहुने भन्ने दृष्टिले हेर्दैन भन्नुभयो ।
बरु निर्वाचनलाई पनि एक वर्गीय र राजनैतिक संघर्ष तथा आन्दोलनको रूपमा हेरेको बिजुक्छेले बताउनुभयो ।अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस , एमाले र माओवादी केन्द्रका नाम र रङ फरक भए पनि यि सबै दल वर्गीय रूपमा पुँजीवादी राजनीतिक दल नै भएको दाबी गर्नुभयो ।
प्रतिकृया