केपी ओलीलाई सत्ताबाहेक अरु केही पनि चाहिँदैनः माधव नेपाल
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०६:१४

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता बाहेक अरु केही नचाहिएको आरोप लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘केपी ओलीलाई सत्ता भनिसकेपछि त्योभन्दा बाहेक अरु केही पनि चाहिँदैन। सत्तामा पुगेपछि सबैथोक छ भन्ने उहाँको मान्यता छ। त्यसो हुनाले उहाँले भन्ने गर्नुहुन्छ– कुर्सी पाएन भने कुर्सी नै भाँचिदिन्छु।’
आफूहरुको संघर्ष प्रधानमन्त्री पदका लागि भन्दा पनि संविधान र संघीयता बचाउनका लागि भएको उनको भनाइ छ। एकअर्काप्रतिको विश्वासका साथ विपक्षी गठबन्धनका पाँच दल एक ठाउँमा उभिएको उनले दावी गरे। अहिलेको संघर्ष केपी ओली प्रवृतिविरुद्ध भएको वरिष्ठ नेता नेपालले बताए। केपी ओलीलाई सत्ताको मात लागेको उनको आरोप छ।
उनले भने, ‘यो केपी ओली व्यक्तिविरुद्धको लडाईं होइन। यो केपी ओली प्रवृतिविरुद्धको लडाईं हो। शक्ति, सत्ता र पैसाको मात खतरनाक हुन्छ। यो तीन वटाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। केपी ओलीजीमा त्यही शक्ति, सत्ता र पैसाको मात लागेको छ।’
प्रतिकृया