महालक्ष्मी नगरपालिकाले २५ जना उद्यमीहरूलाई निरब्याजी पुँजी र बिउ वितरण
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०१:४४

ललितपुर : महालक्ष्मी नगरपालिका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठको अध्यक्षतामा नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत छनोट भएका २५ जना उद्यमीहरूलाई निर्ब्याजी बिउ पुँजी हस्तान्नतरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपाने, र प्रमुख शिक्षा अधिकृत लगायत नगरपालिकाका शाखा प्रमुखहरूको उपस्थित रहेको थियो ।
नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत जम्मा ८८ उद्यमीहरूको निवेदन परेकोमा पुँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता, कृषि, पर्यटन र हस्तकला सम्बन्धी उद्यमका आधारमा मूल्याङ्कन गरी पहिलो चरणमा २५ जना उद्यमीहरू छनोट भएका हुन् । छनोट भएका उद्यमीहरूलाई नगर प्रमुखज्यूले चेक र व्यवसायको साइन बोर्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा सम्बोधन गर्नुहुँदै उनले छनोट भएका उद्यमीहरूलाई थप उत्साहका साथ व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुहुँदै, नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममार्फत नगरभित्रका उद्यमीहरूलाई आगामी दिनमा प्रविधि हस्तान्तरण, बजारीकरण र व्यवसाय स्तरोन्नतीमा थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोही कार्यक्रममा मन्तव्य राख्नुहुँदै नगर उपप्रमुख श्री निर्मला थापाज्यूले छनोट भएका उद्यमीहरूलाई शुभकामना दिनुहुँदै, उनीहरू भावि उद्यमीहरूका लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिए । आजको कार्यक्रममा उपस्थित उद्यमीहरूलाई प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमका विविध पक्षमा अभिमुखीकरण गरेका छन् ।
महालक्ष्मी नगरपालिकाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तरगत पहिलो चरणमा कृषि, पशु पालन, पर्यटन, सिलाई-कटाई, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्न चाहने २५ जना उद्यमीहरूलाई नगरपालिकाले जम्मा ३५ लाख निर्ब्याजी बिउ पुँजी उपलब्ध गराएको छ ।
प्रतिकृया