हुम्लामा चामल ढुवानीको विषयलाई लिएर गाउँलेबिच झडप, एकै परिवारका तीनजना घाइते
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ११:१५

काठमाडौँ : एक बोरा चामल ढुवानीको विषयलाई लिएर हुम्लाको सिमकोट–७ डाँडाफयाको ग्वालेखोरमा गाउँलेहरुबिच झडप भएको छ। शुक्रबार राति गाउँकै स्थानीय दुई समूहबिच भएको झडपमा सिमकोट–७ ग्वालेखोराका एउटै घरका आमा, बुवा र छोरा गरि तीनजना घाइते भएका छन्।
घाइते हुनेमा प्रवेश शाही, मनबहादुर शाही र सिद्धा शाही रहेका छन्। नाक, मुख र टाउकोमा चोट लागेका उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरेको चामल ट्रयाक्टरमा ढुवानी गरेर लैजाने विषयमा स्थानीय प्रवेश शाही र उमेश सिहंबिच भएको विवादले झडपको रुप लिएको हो। झडपमा उमेश सिंह र दिनेश शाही पक्षको कुटाईबाट प्रवेश शाहीका घरका तीनजना घाइते भएका हुन्।
प्रवेशको नाकमा पाँच र टाउकोमा एक टाँका लगाइएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्। उनका अनुसार सिद्धको टाउकोमा एक टाँका लगाइएको छ। शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले नियमित वडाको कोटाको चामल वितरण गरेको थियो। प्रतिघर एक बोरा चामल पाएका साविकको डाँडाफया गाविस–३ (हालको सिमकोट–७) ग्वालेखोरका स्थानीयले चामल एकमुष्ट ढुवानी गर्ने गरि ट्रयाक्टर रिजर्भ गरेका थिए। प्रति बोरा चामलको एक सय रुपैयाँ ढुवानी तिर्ने सहमतिमा ट्रयाक्टर रिजर्भ गरेका बेला प्रवेशले आफ्नो चामल पनि सोही ट्रयाक्टरमा राख्न खोजेपछि विवाद सुरु भएको बताइएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। झडपमा संलग्न सिमकोट–७ ग्वालेखोरका उमेश सिंह र दिनेश शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिकृया