• 12:20 pm

बीएण्डसीको अध्ययन गरेर फर्कियो टोली, प्रतिवेदनको प्रतीक्षामा आयोग

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०१:५९

काठमाडौँ : विवादस्पद दुर्गा प्रसाईंको बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन मिल्नेरनमिल्ने अध्ययन गर्न गठित समिति निरीक्षण गरेर फर्किएको छ । तीन सदस्यीय समितिले निरीक्षण गरेर फर्किएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्ली लुईँटेलले जानकारी दिए ।


‘टोली फर्किएको छ । ७ दिन भित्र सकाउने भनेको थियो, भएन । रिपोर्ट लेख्न पनि समय लाग्छ । टोलीको रिपोर्ट आएपछि छलफल हुन्छ,’ उनले भने, ‘रिपोर्टको प्रतीक्षामा आयोग छ ।’


कोरोना महामारीका कारण ढिलाई भएको आयोगको तर्क छ । बीएण्डसीको अध्ययन गर्न गत ३१ जेठमा आयोगको कार्यकारी समितिले तीन सदस्यीय समिति बनाएको थियो । टोलीमा रहेका सदस्यहरुको नाम गोप्य राखिएको छ । आयोगको ३० जेठमा बसेको बैठकले ७ दिन भित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो ।


उक्त बैठकमा प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्बन्धन दिन आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएका थिए । तर उपाध्यक्ष गिरीले प्रक्रिया पूरा नभइ सम्बन्धन दिन नसकिने अडान लिएपछि अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो ।


अदालतमा विचराधीन रहेको मुद्दा र मनाशयपत्र खारेज भइ सकेको बीएण्डसीलाई चोरबाटोबाट सम्बन्धन दिन खोजेको भन्दै नागरिक समाजले पनि आन्दोलन गर्दै आएको छ ।

प्रतिकृया