चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
प्रकाशित मिति
२०७८ असार ९ गते, बुधबार ०२:०१

काठमाडौँ : वीरगंज महानगरपालिका-२० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल तथा कागजात नभएका र पार्टपूर्जा खोलिएको अवस्थाका अन्य ११ वटा मोटरसाइकल सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१८ ठेगाना भएका २१ वर्षीय साहेव साह, सोही ठाउँ बस्ने २६ वर्षीय अवधेश प्रसाद पटेल र १५ वर्षीय किशोर रहेका छन् । साहेवले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी सोही महानगरपालिका-२२ जगरनाथपुर ढाटस्थित अवधेशप्रसादको मोटरसाइकल ग्यारेजमा ल्याई पार्टपूर्जा खोली बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ग्यारेजमा तलासी गर्दा चोरी भएको मोटरसाइकल तथा पार्टपूर्जा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
सिन्धुली, कमलामाई नगरपालिका-६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको छ ।
उनकै श्रीमान रबि खत्रीले गत जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रबिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
एक थान भरुवा बन्दुक बरामद
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बस्ने पारस न्यौपानेको घर पछाडिबाट १ थान भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
एसुब राना मगर समेतको हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका पारसको घर पछाडि भरुवा बन्दुक लुकाई राखिएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
हाल फरार रहेका पारसको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पहिरोमा पुरिएर ३ जनाको मृत्यु
रोल्पा, रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा उक्त पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशिला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन् । पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको छ । उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट मृत्यु
सर्लाही, ईश्वरपुर नगरपालिका-१३ सागरनाथ वनस्थित श्रीनगर बस्ने ६० वर्षीय राम आशिष महत्तोको गत राति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भीरबाट लडेर मृत्यु
जाजरकोट, भेरी नगरपालिका-२ डिंगा बस्ने उक्त वडाकी वडासदस्य ६२ वर्षीया शसिला बिकको ढ्याङ्ग्राचौर भीरबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ । बाउनथानास्थित वडा कार्यालयमा छलफलको लागि जानेक्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेपालगञ्जतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौँ, दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर परिसरको १ नम्बर पिकनिक स्पोटको शौचालयभित्र हाल नाम, थर, वतन नखुलेकी ३० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी दक्षिणकाली नगरपालिका-८ मख्खु बेसी बागमती खोलामा ललितपुर गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने २८ वर्षीय सानुमाईला दनुवार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, महाकाली नगरपालिका-४ बाङगाबगरस्थित सडकको निर्माणाधिन पुल मुनि हिमपाइपभित्र सोही ठाउँ आर्मी गेट नजिक बस्ने दुहु गाउँपालिका-४ घर भएका मन्जु कुँवरको छोरा १२ वर्षीय रमित कुँवर र ब्याँस गाउँपालिका-४ सुनसेरा घर भई बाङगाबगड बस्ने अमर सिँह खत्रीको छोरा १७ वर्षीय प्रकाश खत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ नजिकै नुहाउनेक्रममा २ जना हिमपाइपभित्र पसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरूको शव फेला पारेको हो ।
तेह्रथुम, आठराई गाउँपालिका-४ कैजले बस्ने ३५ वर्षीया हरिकला मगर सोही गाउँपालिका हिउदे खोलास्थित छाँगे दहको ओडारभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पहिरोका कारण सडक अवरोध
सल्यान, कपुरकोट गाउँपालिका-३ बसेरीस्थित सडकमा बुधबार बिहान पहिरो जाँदा सडका पूर्णरुपमा अवरोध भएको छ ।
दार्चुला, मालिकार्जुन गाउँपालिका-८ खोलीचौराहस्थित दार्चुला-गोकुलेश्वर सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
सिन्धुपाल्चोक, सागागढी नगरपालिका-९ डुम्ब्रेस्थित सडकमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । ती स्थानमा नजिकको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिकृया