निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०७८ जेष्ठ २९ गते, शनिबार ०१:२८
काठमाडौँ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार २ सय ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ५० जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ९ सय ७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८० वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय ९४ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
गोली प्रहार गरेको अभियोगमा पक्राउ
दाङ, तुलसीपुर उपमहानगरपालिका–८ अस्वार गनारमा स्थानीय बिच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा पूर्ण बहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलीले खोजी गर्ने क्रममा रा.२ प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका–८ टिकरीबाट फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । घटनास्थलबाट म्यागजिन सहितको ६ राउण्ड गोली, एक राउण्ड खोका र कम्पनीको नाम नलेखिएको १ थान पेस्तोल प्रहरीले फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित २ जना पक्राउ
सुनसरी, बराहक्षेत्र नगरपालिका–२ रेललाईन बस्ने २५ वर्षीय एसुब राना मगर र सोही ठाउँ बस्ने २५ वर्षीय सागर मगरलाई ३ थान भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद, १ वटा हरिणको टाउको, सिंग र करिब १२ केजी मासु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सोही ठाउँ बस्ने २५ वर्षीय निरज घिमिरेको घरमा जंगली जनावर हरिण मारी ल्याई मासु काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त हतियार तथा मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार निरज घिमिरेको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
ईलाम, आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा देउमाई नगरपालिका–४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ताक बहादुरले आफ्नै श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
कञ्चनपुर, बेलडाडी गाउँपालिका–२ स्थित बेलडाँडी बजारबाट १ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बेलडाँडी गाउँपालिका–१ बस्ने २८ वर्षीय दिपक सिह ठकुराठीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सु.प.प्र.०१–००८ प ६००५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका–६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । धन बहादुर र बेदकोट नगरपालिका–५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो । हाल फरार सिप्पु खुनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध रुपमा भित्रीएका ८ वटा मोटरसाइकल भंसार बुझाइएको
पर्सा, अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभई अवैध रुपमा भित्रीएका ८ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ । गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा भित्याझाइएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमाने भन्ने स्थानमा माछापुछ्रे नेशनल ईस्भेष्टेडको निर्माण कार्यमा प्रयोग भएको जेसिबी बोकी ग.१ क ५१७३ नम्बरको लोबेड गाडी सोलुखुम्बुबाट पोखरातर्फ जाने क्रममा करेन्ट लागेर २ जनाको शुक्रबार बिहान मृत्यु भएको छ ।
विद्युतको तारमा जेसिबीको माथिको भागमा टच हुन गई करेन्ट लाग्दा ग.१ क ५१७३ नम्बरको लोबेड गाडी चालक बाग्लुङ बडीगंगा गाउँपालिका–५ बस्ने २६ वर्षीय भुमिराज मरासैनी र लोबेडमा सवार जेसिबी चालक स्याङजा घर भएका २३ वर्षीय राम परियारको घट्नास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
चितवन, ईच्छाकामना गाउँपालिका–४ लेवटारस्थित त्रिशुली नदीको किनारामा तनहुँ आबुखैरेनी नगरपालिका–४ बस्ने २३ वर्षीय किरण गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया