• 11:09 am

राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त नगरेर संविधानको ठाडो उल्लंघन गर्नुभयो : देउवा

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०१:११

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३०औँ स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्रपतिले सांसदहरूको हस्ताक्षर भेरिफाइ नगरी आफूलाई प्रधानमन्त्रीमा पेस गरेको दाबी अस्वीकार गरेर संसद् विघटनको सिफारिस सदर गरिदिएको आरोप लगाएका हुन् ।


‘संविधानको धारा ७६ को ५ अनुसार १४९ सांसदको हस्ताक्षरसहित मैले प्रधानमन्त्रीमा दाबी गर्दै मैले राष्ट्रपतिलाई बुझाएको थिएँ,’ उनले भने, ‘तर, उहाँले हस्ताक्षर भेरिफाइ नगरी दाबीलाई सिधै अस्वीकार गरिदिनुभयो । यो संविधानविपरीतको काम हो ।’ देउवाले प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षरसहितको दाबी अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।


‘बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीका पेस गरेको दाबी अस्वीकार गरेर त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमै संसद् विघटनको निर्णयलाई सदर गरिदिनुभयो,’ उनले भने, ‘त्यसैले राजनीतिक र संवैधानिक संकट आइपरेकाले हामी अदालत गएका हौँ ।’


देउवाले वैकल्पिक सरकार बन्ने अवस्था कायम रहेका बेला संसद् विघटनको सिफारिसलाई सदर गर्नु असंवैधानिक कदम भएको बताए । ‘हामी वैकल्पिक सरकार दिन तयार थियौँ । बहुमत सांसदले मलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । तर, राष्ट्रपतिले प्रधानमन्त्रीको कुरा सुनेर संसद् विघटन गरिदिनुभयो,’ उनले भने ।

प्रतिकृया