• 5:46 pm

नेपाललाई रातो सूचीमा राख्दै बहराइनले लगायो यात्रा प्रतिबन्ध

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार १०:४२

काठमाडौं: कोभिड-१९ संक्रमणको जोखिम भएकाले बहराइनले नेपालसहित एसियाका पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । नेपालसहित एसियाली मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन जान प्रतिवन्ध लगाइएको हो ।


कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ । पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।


उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो । यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो ।

प्रतिकृया