एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै
प्रकाशित मिति
२०७८ जेष्ठ ११ गते, मंगलवार १०:२४
काठमाडौं: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ । ‘अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको छ,’ साउदले भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।’
एमाले संसदीय दलको अंकगणित
प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् । उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।
बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपछि पार्टी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ।
प्रतिकृया