किसानले मल पाएनन्
प्रकाशित मिति
२०७८ जेष्ठ १० गते, सोमबार ०२:४६
टिकापुर: कोरोना सङ्क्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन्। निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन्। निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भएपनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन्।
किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउँछन्। ‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए। खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन। सहकारीले मल बिक्री गरिरहेका छैनन्। अब कसरी मलको जोहो गर्नुरु,’ उनले भने।
गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने–नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन्। जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले सुरु गरेका छन्।
मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्नेगरेका अर्का किसान प्रेमलाल चौधरीले बताए। ‘निधेषाज्ञा छ, मल पाउने टुङ्गो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’, प्रेमलालले भने, ‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनुपर्छ। नत्र उत्पादन घट्ने निश्चित छ।’
वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन्। वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही हो। कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन्। विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ।
किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ।
‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिँड्ने वातावरण बनाइदिनुस्’’, डगौरा भन्छन्, ‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ। खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु पर्यो।’
किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन्। ‘मुलुकमा आर्थिक गतिविधि ठप्प छन्। मानिसको भोक मेट्ने भनेको उतपदनले हो। कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशक्ति जस्ता कुरामा सहयोग चाहिन्छ’, किसान अगुवा रुपेश शर्मा भन्छन्, ‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ। साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ।’
कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ। विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन्। कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ। -रासस
प्रतिकृया