प्याब्सनको राहत कोष स्थापना
प्रकाशित मिति
२०७८ बैशाख ३१ गते, शुक्रबार ०१:५६
काठमाडौँ : कोभिड-१९ महामारीमा निजी लगानीका विद्यालयहरूको छाता संगठन प्याब्सनले विपद व्यवस्थापन राहत कोष समिति स्थापना गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा कोभिड-१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरि प्याब्सन राहत कोषको स्थापना गर्दै विभिन्न उपसमितिहरू गठन गरेको हो ।
पुरीको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति, केन्द्रीय कार्यसमितिका सह-अध्यक्ष डीके ढुंगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरू गठन गरी केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पालिका तहसम्मका सदस्य विद्यालयहरूको सहयोग तथा सक्रियतामा तत्काल कार्य प्रारम्भ गर्ने प्याब्सनले जनाएको छ ।
कोभिड-१९ राहत प्रयास अन्तर्गत यस संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजनसहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब थालिने संगठनले जनाएको छ ।
प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिहरुले आ-आफ्नो स्थानमा सरकार तथा अन्य सरोकारवाला संघ-संस्थाहरुसँग आवश्यक सम्पर्क, समन्वय र सहयोग गरी मूल समितिमा जानकारी गराउन संगठनले अनुरोध गरेको छ ।
प्रतिकृया