• 5:18 pm

सुदूरपश्चिममा औलोको जोखिम बढ्दै

प्रकाशित मिति

२०७८ बैशाख १८ गते, शनिबार ०४:१४

डोटी: पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ ।  औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

 

 

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा. गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो ।  उनका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन् ।

 

 

जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ ।  चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६र ७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।  प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् ।  यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।

प्रतिकृया