यातायातका साधन तथा मानवीय आवागमनमा रोक, निषेधाज्ञामा थप कडाइ
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार ०१:२२

काठमाडौँ : निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमनमा रोक लगाइएकाे गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।
प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने २ हजार बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ । जिल्ला-जिल्लामा यो क्रम जारी रहेको थियो । नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड-१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ ।
ठाउँ-ठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिए । आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिकृया