• 8:52 am

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०१:१०

काठमाडौंँ : दाङ, मोरङ, बाँके, बाजुरा, चितवन र धनुषाका विभिन्न स्थानमा भएका सावरी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-६ चैनपुर नजिक रा१ख ४६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने हिरा महराकी छोरी ५ वर्षीया सीमा महराको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मोरङकाे बेलबारी नगरपालिका-८ चिस्याङ खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-९ बस्ने ८३ वर्षीया मनमाया तामाङको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी लेटाङ नगरपालिका-८ स्थित सडकमा को१ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा सोही बसले किच्दा बसमा सवार मिक्लाजुङ गाउँपालिका-५ जोगीटार बस्ने ५१ वर्षीय सहबिर मगरको बिहीबार दिउँसो मृत्यु भएको छ ।

 

 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके, राप्तिसोनारी गाउँपालिका-९ ढकेरी सिमलचोकस्थित सडकमा भे १ त ७९९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय दिपक पुनको घटनास्थलमै मृत्यु भएको छ । बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका-३ भण्डारी वाडास्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरको ट्रलीमा चड्ने क्रममा लडेर सोही गाउँपालिका जुकोट बस्ने अंगे कडराको छोरा ९ वर्षीय जगत कडराको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यसैगरी चितवनकाे भरतपुर महानगरपालिका-४ पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

त्यस्तै  धनुषाकाे मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा एनएल ०१ जि ४०४१ नम्बरको लहरी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुषको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  स्थानिय  प्रहरीले जनाएकाे छ ।

प्रतिकृया