• 12:56 pm

खाद्यान्न स्टक : २९ हजार मेट्रिक टन ,उपत्यकामा ४ स्थानबाट ग्राहकलाई सेवा

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार १०:४३

काठमाडौँ :   हाल २९ हजार मेट्रिक टन खाद्यान्न स्टक रहेको खाद्य तथा व्यापार कम्पनीले जनाएकाे छ । कम्पनीसँग अहिले धान, चामल, गहुँ गरी करिब २९ हजार मेट्रिक टन खाद्यान्न स्टक रहेको र ४ बिक्रीकक्षबाट खाद्यान्न बिक्री गर्ने खाद्य कम्पनीले जनाएकाे हाे ।

 

 

निषेधाज्ञामा खाद्यान्न पाइँदैन कि भनेर आम उपभोक्तालाई चिन्ता परेकाे बेलामा र स्टक  राख्न उपभोक्ताले चाहेभन्दा बढी स्टक राखेकाेमा उनले हाल कम्पनीमा २९ हजार मेट्रिक टन खाद्यान्न रहेकाे र उपभोक्तालाई नआत्तिनुका साथै अनावश्यक स्टक नराख्न कम्पनीकी प्रवक्ता सर्मिला सुवेदीले बताएकी हुन् ।

 

 

उनका अनुसार अहिले कम्पनीले ५ हजार मेट्रिक टन चामल धमाधम खरिद गरिरहेको छ भने १ लाख ८६ हजार ४४० क्विन्टल धान स्टक रहेको छ । ५० हजार क्यिन्टल चामल सम्झौता भइ आउने क्रममा रहेको छ । त्यसरी नै कम्पनीले ३० हजार क्विन्टल खरिद गरिसकेको छ भने ४४ हजार क्विन्टल गहुँ खरिदको प्रक्रियामा रहेको  उनले बताइन् ।

 

 

‘कम्पनीले आम उपभोक्तालाई घरघरमै पनि निःशुल्क सेवा दिइरहेको छ । रिङरोड भित्र खाद्य कम्पनी आफैले र बाहिर ‘सस्तो डिल’ मार्फत निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ,’ सुवेदीले भनिन् ‘खाद्यान्न पाइँदैन भनेर आत्तिनु पर्दैन ।’ हामी आम उपभोक्तालाई घरघरमै सेवा दिन तयार छौं ।’

निषेधाज्ञा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानबाट ग्राहकलाई सेवा दिने भएको छ । सरकारी स्वामित्वको खाद्य कम्पनीले थापाथली र ललितपुर नख्खुको बिक्री कक्ष बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म तीन सिफ्टमा सञ्चालनमा रहने छ । रामशाहपथ र सूर्य विनायकको बिक्री कक्ष बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहने बताइएकाे छ ।

 

कम्पनीका अनुसार यी बिक्री कक्ष र अनलाइन डेलिभरीमा पनि कम्पनीले विभिन्न ब्राण्डको चालमदेखि कर्णालीको सिमी, जुम्ली मार्सी धानको चामल, खाने तेल, घ्यू, स्यानिटाइजरलगायत वस्तु खरिद गर्न पाइने छ । यस्तैगरि उपत्यकासहित पोखरा र सुर्खेतमा अनलाइनबाटसमेत खाद्य सामग्री अर्डर गर्न सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले ‘नेपाल फुड’ ब्रान्डमा खाद्य सामग्रीहरू अनलाइनमार्फत् बिक्री गर्दै आएको छ । कम्पनीले गत वर्ष लकडाउन भएका बेला अनलाइनमार्फत खाद्यान्न बिक्री गरेको थियाे  ।

प्रतिकृया