प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ
प्रकाशित मिति
२०७८ बैशाख ५ गते, आईतवार ०४:३९
मोरङ: बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीय नौसाद मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही बुटवल उपमहानगरपालिका-९ बस्ने १८ वर्षीय हेमन्त शर्माको शनिबार मृत्यु भएको छ ।
त्यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० मलवा बस्ने महेन्द्र कुर्मीको ९ वर्षीय छोरा आदर्श कुर्मीको घरबाट १ किमी टाढा बाणगंगा खोलामा पौडी खेल्नेक्रममा डुबेर शनिबार मृत्यु भएको छ । शनिबार बिहान घरबाट निस्कीएका उनी साथीहरूसँग उक्त खोलामा पौडी खेल्न गएकोमा साँझसम्म पनि घर नफर्कीएपछि खोजी गर्नेक्रममा डुबीरहेको अवस्थामा उनको शव फेला परेको हो ।
चट्याङ लागेर मृत्यु
अर्घाखाँची मालारानी गाउँपालिका-३ खनदह बस्ने भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको शनिबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ । आफ्नो घर नजिकै असिनापानी टिप्ने क्रममा चट्याङले लागि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत अवस्थमा फेला
काठमाडौं महानगरपालिका-१ जमलचोकस्थित पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका-१० सुकुमवासी टोल बस्ने ३५ वर्षीय गोपाल श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिकृया