प्रदेशसभाको ‘बाध्यात्मक’ बैठक चैत ३० गते बोलाइयो
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०५:५६

काठमाडौं : लामो समयपछि प्रदेश २ प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा चैत ३० गतेका लागि ‘बाध्यात्मक’ बैठक बोलाइएको हो । प्रदेशसभा बैठक प्रत्येक ६ महिनामा अनिवार्य बस्नुपर्ने कानूनी प्रावधान छ ।
वैशाख ३ गते बैठक बस्ने अन्तिम मिति रहको हुनाले प्रदेश सरकारको सिफारिसमा बाध्यात्मक बैठक बोलाइएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । संसद बैठक अघि कार्यव्यवस्था समितिको बैठक बस्नु पर्ने हुन्छ । कार्यव्यवस्था बैठक आह्वान गरिए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा लामो समयदेखि बैठक अन्यौलमा परेको छ ।
नेपाल क्मयुनिस्ट पार्टी नेकपा विभाजन र जनता समाजवादी पार्टी जसपा एकताका कारण कार्यव्यवस्था समितिको सदस्य फेरबदल भएका छन् । प्रदेशसभा सचिवालयले नेकपा र जसपालाई पटक–पटक सदस्यको नाम सिफारिस गर्न पत्राचार गरे पनि सदस्यको नाम सिफारिस गरेको छैन ।
पार्टीले सदस्यको नाम सिफारिस गर्न नसक्दा सदन नै अन्योलमा परेको उनको भनाइ छ । कार्तिक ४ गते बैठक बसेर चौथौं अधिवेशन सम्पन्न भएको थियो । पाँच महिना तीन दिनपछि पाँचौं अधिवेशन सुरु हुन लागेको हो । लामो समयसम्म प्रदेशसभा बैठक नबोलाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन् ।
केही महिना अगाडी बैठक बोलाउन माग गर्दै काँग्रेस र तत्कालीन नेकपाले समेत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया