• १३:३३ २०८१ बैशाख ७ गते
  • 1:33 pm

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने सहित बिभिन्न कसुर गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार १२:५२

arrest 1 e1616141884985

काठमाडौं: जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई  प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१५ लक्ष्मि डाँडास्थित जंगलमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ

बागलुङ  ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ  

मोरङ कटहरी गाउँपालिका-१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका-८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार राय रहेका छन् ।

उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान , टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामान सहित पक्राउ गरेको हो । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनको  बाला सहित पक्राउ

काठमाडौं महानगरपालिका-८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बाला सहित  फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस-८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस-७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस-८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए । उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको  हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

जनकपुर उपमहानगरपालिका-१९ बेंगास्थित सडकमा ज.६ प ५०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेश कुमार यादबको मृत्यु भएको    छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिन्देश्वर कुमार साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भिमेश्वर नगरपालिका-६ सिमपानीस्थित सडकमा ना.७ त ४६९४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कैलाली जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय दिपेन चौधरीको मंगलबार साँझ मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

कास्की पोखरा महानगरपालिका-३३ प्रगती मार्ग घर भएका २३ वर्षीय बिशाल रायमाझीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित ग्लोबल प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजार पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरीमा डुबेर मृत्यु

सुद्धोधन गाउँपालिका-५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको सोही गाउँपालिका-२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

 काठमाडौं महानगरपालिका-३० रातोपुल डेरा गरी बस्ने भारत कोलकत्ता घर भएको ३९ वर्षीय प्रदिप मण्डल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  रौतहट, ईशनाथ नगरपालिका-१ बस्ने राम बिलास साह कानु र सोही ठाउँ बस्ने रामेश्वर साह कानुको घरमा मंगलबार दिउँसो आगलागी हुँदा दुबै घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने महेश गोडियाको घरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर गोडिया समेतको ५ वटा घर जलेर करिब १७ लाख रुपैयाँ बरारको धनमाल नष्ट भएको छ ।

तेह्रथुम, छथर गाउँपालिका-५ डोप्किले देउराली सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अग्नि नेपालीको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ हरिहरपुरस्थित बस्तीमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने नानु यादव समेतको ३ वटा गोठ तथा २ वटा घर जलेर करिब ६ लाख ५१ हजार रुपैयाँ बरारको धनमाल नष्ट भएको छ ।

बारा, प्रसौनी गाउँपालिका-३ नेपाल उड उद्योगमा राखेको काठमा गएराति आगलागी हुँदा काठ तथा १ थान मेसिन समेत  जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

सुनसरी, सुनसरी दुहबी नगरपालिका-८ स्वदेशी साबुन फ्याक्ट्रीको कम्पाउण्डभित्र पुराना कागज पत्रहरु डढाउने क्रममा मंगलबार साँझ आगलागी हुँदा कुलर मेसिन लगायतका मेसिनहरू जलेर नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया