• 4:02 pm

निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिए पनि नआत्तिनू, बीचमै अलपत्र पार्दिनँ: माधव नेपाल

प्रकाशित मिति

२०७७ चैत्र २४ गते, मंगलवार ०४:५३

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

 

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्। उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए।

 

आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए। उनले एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याइछाडने प्रतिवद्धतासमेत व्यक्त गरे।

 

उनले भने, ‘भोलि वैधानिक रुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ। समाधान हामी निकाल्ने छौँ। त्यसो हुनाले बीचमा तपाईंहरुलाई छाड्ने छैनौँ।

 

तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौँ। त्यो डुंङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइ छाडने छौँ। लक्ष्यसम्म पुगिछाड्ने छौँ। त्यसो हुनाले आत्तिनुपर्ने केही छैन।’

 

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे। त्यसक्रममा विभिन्न राजनीतिक दलहरुका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि उनले बताए।

 

उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ। नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौँ। उहाँहरु पनि सकारात्मक हुनुहुन्छ। अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनुभएको छ। हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौँ।

 

हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन। तर यदी हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ। यही संकल्पका साथ हामी यहाँ भेला भएका छौँ।’

 

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले बताए। आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको उनको भनाइ छ।

 

अहिले प्रचण्ड र अन्य दलहरुसँगको दूरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताए।

 

केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए। आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि उनले बताए।

 

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए। २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको पनि उनले बतायो।

 

अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताए। केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने उनको भनाइ छ।

प्रतिकृया