• 1:25 pm

सुरु भयो राष्ट्रिय गैँडा गणना

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०८:५७

काठमाडौँ: राष्ट्रिय गैँडा गणना सोमबार (चैत ९ गते) देखि सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा गैँडा गणना सुरु भएको हो ।

 

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली हात्तीमा परिचालित भएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।

 

गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका हुन् । गणनाको औपचारिक कार्यक्रम भने चिवतनको सौराहमा बिहान साढे १० बजेपछि वन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा हुनेछ ।

 

चितवनमा र पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि तीन हप्ता लाग्ने अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए । उनले भने, ‘पर्साबाट सुरु भएको गणना बिस्तारै पश्चिम तिर सर्दै जाने छ ।  गणकहरु पर्साको वन क्षेत्र हुँदै नारायणी नदी पार गरेर नवलपुरको वन क्षेत्रसम्म पुग्ने छन् ।’

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चैत १९ गतेदेखि गणना थालिने उनले बताए । चैतभर गणना सकेर आउँदो वैशाखमा पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको विभागले जनाएको छ ।

गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका गरि ५६ वटा हात्तीहरु प्रयोग हुने छन् । गणनामा हात्तीको दरबन्दीमा रहेका माउते तथा स्याहारकर्ता पनि प्रयोग हुने छन् । चितवन र पर्साको गणनाका लागि ४० जना मुख्य गणक खटिने छन् । बर्दिया र शुक्लाफाँटामा १०–१० जना मुख्य गणक रहने छन् ।

गैँडा गणनाका लागि सरकाराले ८० लाख रुपैयाँ बिनियोजन गरेको र दाताहरुबाट प्राप्त भएको थप रकमसहित कुल एक करोड तीन लाखको लागत अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।

नेपालमा हरेक पाँच वर्षमा गैँडा गणना गरिन्छ । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्ने उनले बताए । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतका सामान प्रयोग गरिन्छ।

गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिने गरेको र गणनापछि अवस्था हेरेर व्यवस्थापनको काम गरिने विभागले जनाएको छ ।

पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कुल ६४५ गैँडा थिए । त्यस अनुसार सबैभन्दा धेरै चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

विभागको तथ्यांक अनुसार नेपालमा सन् १९५० मा सबैभन्दा धेरै ८०० गैँडा थिए । त्यसपछि सन् १९६५ सम्म गैँडाको संख्या लगातार घट्दै गएको देखिन्छ । १९५५ मा ४००, सन् १९६० मा ३०० र सन् १९६५ मा १०० गैँडा भेटिएका थिए ।

त्यसपछिका वर्षमा भने संख्या बिस्तारै बढ्न थाल्यो । सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा भेटिएका थिए । त्यसपछि सन् २००० मा गैँडाको संख्या ६१२ पुगे पनि सन् २००५ मा घटेर ४०९ पुगेको थियो । सन् २०१० मा ४३५ पुगेको गैँडाको संख्या २०१५ मा ६४५ दर्ता भएको थियो ।

प्रतिकृया